राजनीति


चर्कियो कांग्रेस विवाद, दुई दिनमा के के भयो?

चर्कियो कांग्रेस विवाद, दुई दिनमा के के भयो?

नेपालखबर
पुस १८, २०८२ शुक्रबार १४:३५, काठमाडौँ

विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र विवाद चर्किएको छ भने दुवै पक्ष आन्तरिक छलफल र तयारीमा जुटिरहेका छन्। 

आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवारको सूची बुझाएसँगै कांग्रेसभित्र महाधिवेशनलाई चलिरहेको विवाद रोकिएको अनुमान गरिएको थियो। दुवै पक्ष महाधिवेशनलाई छोडेर निर्वाचनमा केन्द्रित भएको आकलन गर्न थालिएको थियो। 

तर, बिहीबार बिहान एउटा खबर बाहिर आयो- कांग्रेसको विशेष महाधिवेशनका लागि भृकुटीमण्डपको हल बुकिङ। कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हल बुकिङ गरेका थिए। 

विशेष महाधिवेशन आयोजक समितिका तर्फबाट कांग्रेस नेता रमेशप्रसाद धमलाले समाज कल्याण परिषद्को भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र पठाएका थिए। पत्रमा प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको हल दुई दिनका लागि उपलब्ध गराउन आग्रह गरिएको थियो। 

यससँगै कांग्रेसभित्र महाधिवेशनलाई लिएर विवाद चर्किएको हो। त्यसयता एकमाथि अर्को घटनाक्रम बढ्दै गएका छन्। 

विशेष महाधिवेशनका लागि भनेर हल बुकिङ भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चासो देखाए। उनले बिहीबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता लेखकलाई बोलाएर छलफल गरेका थिए। 

त्यसपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने तयारी थालेका थिए। दुवै महामन्त्रीलाई बिहीबार साँझ ५ बजे छलफलका लागि बोलाएका थिए। 

तर, महामन्त्री थापा भने देउवा निवास महाराजगञ्ज नगएर काभ्रेको धुलिखेलतिर लागे। विशेष महाधिवेशनका लागि प्रतिवेदन तयार गर्न धुलिखेल गएका थिए। त्यसपछि देउवाले दुवै महामन्त्रीसँग छलफल गरेनन्। 

हल बुकिङपछि सुरु भएको विवाद बिहीबार साँझ आएको महामन्त्रीद्वय थापा र शर्माको संयुक्त वक्तव्यले झन चर्कियो। उनीहरूले जारी गरेको वक्तव्यमा नियमित महाधिवेशन स्थगित भएको घोषणा गरिएको थियो। पुस १६ मा हुनुपर्ने वडा अधिवेशन नभएकाले उल्लेख गर्दै अब तोकिएको समयमा महाधिवेशन हुन नसक्ने जनाउँदै उनीहरूले स्थगित गरेको घोषणा गरेका थिए। 

कांग्रेस विधानले महामन्त्रीलाई महाधिवेशन स्थगित गर्ने अधिकार नदिएको भए पनि थापा र शर्माले स्थगित भएको घोषणा गरेका थिए। उनीहरूले भनेका थिए, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत स्थगित गरिएको जानकारी गराइन्छ।’

महामन्त्रीद्वयको वक्तव्यपछि सभापति देउवाले बिहीबार साँझ फेरि कार्यवाहक सभापति खड्का र नेता लेखकसँग छलफल गरे। दुवै जनासँगको भेटमा देउवाले विशेष महाधिवेशनले पार्टी फुट्ने जिकिर गर्दै नियमित महाधिवेशनमै जोड दिएका थिए। 

त्यसपछि कार्यवाहक सभापति खड्काले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाए। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार राति सूचना जारी गरी शुक्रबार अपराह्न ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अनिवार्य उपस्थितका लागि आग्रह गरेका थिए। 

बिहीबारदेखि चर्किएको विवाद शुक्रबार पनि थामिएको छैन। शुक्रबार बिहानैदेखि दुवै पक्षका नेता आन्तरिक छलफल र तयारीमा जुटेका छन्। 

शुक्रबार बिहान विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन गर्न माग गरेका छन्। उनीहरूले पुस २८ गतेअघि विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन्। अब विशेष महाधिवेशनको विकल्प नभएको उनीहरूको भनाइ छ। 

कार्यवाहक सभापति खड्काले कार्यसम्पादन समितिको बैठक बोलाएपछि महामन्त्री थापा पनि धुलिखेलबाट फर्किएका छन्। उनी कार्यसम्पादन समितिको बैठकका लागि प्रतिवेदन लेखन छोडेर शुक्रबार बिहान काठमाडौँ फर्किएका हुन्। 

विवाद चर्किएपछि कांग्रेसका २५ नेताले सभापति देउवा तथा महामन्त्रीद्वय थापा र शर्मालाई भेटेका छन्। कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलासहितका २५ नेताले सभापति र महामन्त्रीसँग छुट्टाछुट्टै गरेको भेटमा नियमित महाधिवेशनका ध्यानाकर्षण गराएका छन् भने चुनावको मुखमा विवाद गर्न नहुनेमा जोड दिएका छन्। 

आफूलाई भेट्न आएका नेतासँगको कुराकानीमा सभापति देउवाले पार्टीभित्रको विवाद मिलाउन आफू तयार रहेको बताएका छन्। महामन्त्रीद्वयले भने विशेष महाधिवेशनको माग सम्बोधन हुनुपर्ने बताएका छन्। 

आज अपराह्न ३ बस्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्। संस्थापन पक्षले नियमति महाधिवेशनमै जोड दिएको छ भने महामन्त्रीद्वय थापा र शर्मा पक्षका नेताहरू विशेष महाधिवेशन गर्नुपर्नेमा माग गरिरहेका छन्। 

आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवाद टुंग्याउने आशा गरेको दुवै पक्षसँग छलफल गरेकी नेत्री डिला संग्रौलाले बताइन्। सभापति देउवा तथा महामन्त्रीद्वय थापा र शर्मासँगको भेटपछि संग्रौलाले नेपालखबरसँग भनिन्, ‘आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ, बैठकले निकास दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad