नेपाली कांग्रेसको विशेष महाधिवेशन गर्न भनेर काठमाडौँको भृकुटीमण्डपस्थित हल बुकिङ गरिएको छ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले बिहीबार हल बुकिङ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार, पुस २७ र २८ गतेका लागि हल बुकिङ गरिएको हो।
गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो। कांग्रेस विधानअनुसार प्रस्ताव दर्ता भएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्छ।
यसअघि दुवै पक्षले पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशन गर्ने सहमति गरेका थिए। तर, निर्धारित नियमित महाधिवेशन टरेपछि विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशन बोलाउने गृहकार्य थालेका हुन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनकै पक्षमा छन्। दुवै जनाले संयुक्त विज्ञप्ति जारी गरेर विशेष महाधिवेशन आह्वान गर्न लागेको विशेष महाधिवेशन पक्षका नेता सिवाकोटीले बताए।
बुधबार महामन्त्री थापाले पुस मसान्तभित्र महाधिवेशनका लागि सामाजिक सञ्जालबाट आह्वान गरेका थिए। सभापति शेरबहादुर देउवा विशेष महाधिवेशन गर्न नहुने अडानमा छन्।
यो पनि पढ्नुहोस् : पुसभित्रै विशेष महाधिवेशन बोलाउने तयारीमा गगन-विश्वप्रकाश, म्याद थप्ने रणनीतिमा संस्थापन
Shares

प्रतिक्रिया