प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका काम कारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको छ। कांग्रेसद्वारा गठित मन्त्रालयगत संयोजकहरूको आइतबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले सरकारका कामकारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको हो।
कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बे नेतृत्वमा बसेको बैठकले संसदमा आफ्नो भूमिकालाई थप सशक्त बनाउने र सरकारका कामबारबाहीमाथि निगरानी बढाउने निर्णय गरेको उनको सचिवालयले जनाएको छ। मन्त्रालयगत संयोजकको जिम्मेवारी पाएका सांसदहरूले सरकारका गतिविधि, मन्त्रालयहरूको कार्यसम्पादन तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूबारे आइतबार धारणा पनि राखेका छन्।
बैठकमा मन्त्रिपरिषदको निर्णय तथा सरकारका कामकारबाहीको नियमित निगरानी गर्ने, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गर्ने तथा संसदमा प्रभावकारी ढंगले विषय उठाउने विषयमा छलफल भएको थियो।
साथै राष्ट्रिय महत्वका मुद्दामा पार्टीको धारणा निर्माण गर्न सुझाव दिने, जनताका गुनासा तथा समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउने र सरकारलाई जवाफदेही बनाउन सक्रिय भूमिका खेल्ने निर्णय पनि भएको आङ्देम्बेको सचिवालयले जनाएको छ।
मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठक प्रत्येक महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा बस्ने छ भने आवश्यकता र परिस्थितिअनुसार जुनसुकै समयमा पनि बैठक बोलाउन सकिने कांग्रेसले जनाएको छ।
मन्त्रालयगत संयोजकहरूको सक्रियता बढाएर सरकारको कामको प्रभावकारी अनुगमन गर्दै संसदमा रचनात्मक तथा सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने कांग्रेसको तयारी छ। कांग्रेसले जेठ तेस्रो साता दलको नेतालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सांसदहरुलाई मन्त्रालय हेर्ने जिम्मेवारी तोकेको थियो।
गृहमा प्रकाशसिंह कार्की, अर्थमा नरेन्द्रकुमार केरूङ, परराष्ट्रमा सुनिलबहादुर थापा, पूर्वाधार विकासमा मोहन आचार्य, शिक्षा तथा खेलकुदमा फिर्दोष आलम, स्वास्थ्य तथा खाद्य स्वच्छतामा चन्द्रमोहन यादव, उद्योग वाणिज्य तथा आपूर्तिमा विष्णुबहादुर खड्का, कृषि वन तथा पर्यावरणमा प्रमिलाकुमारी गच्छदारलाई संयोजक तोकिएको थियो। यस्तै कानुन न्याय तथा संसदीय मामिला खम्बबहादुर खाती, रक्षा खड्ग शाही, सूचना तथा सञ्चार मनमाया विश्वकर्मा, युवा, श्रम तथा रोजगार गीता गुरूङ, विज्ञान प्रविधि तथा नवप्रवर्तन सन्दीप रानालाई संयोजकको जिम्मेवारी छ।
ऊर्जा जलस्रोत तथा सिँचाइ सन्तोष सुब्बा, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा गंगालक्ष्मी अवाल, भूमि व्यवस्था सहकारीमा जनकराज गिरी र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा योगेश गौचनले हेर्ने गरी विषयगत संयोजक तोकिएको छ। यस्तै कांग्रेसले प्रतिनिधि सभाअन्तर्गत विभिन्न विषयगत समितिहरूमा समन्वय गर्न पनि सांसदहरूलाई जिम्मेवारी तोकेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको समन्वयकर्तामा रेखाकुमारी यादव, अर्थ समितिको समन्वयकर्तामा खडकबहादुर बुढा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको समन्वयकर्तामा रेनुका काउचा मगरलाई जिम्मेवारी दिइएको छ। त्यस्तै उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको समन्वयकर्तामा टेकबहादुर गुरुङ, कानुन, न्याय तथा मानव अधिकार समितिको समन्वयकर्तामा निनुकुमारी कर्ण, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको समन्वयकर्तामा गीता कुमारी सेन्दाङलाई जिम्मेवारी तोकिएको छ। विषयगत समितिहरूमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्न र समन्वय गर्नका लागि समन्वयकर्ता तोकिएको कांग्रेसले जनाएको छ।
Shares

प्रतिक्रिया