सुदूरपश्चिमको टीकापुरमा आयोजित ११औँ अन्तरव्यवस्थापिका सम्मेलन ९ बुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ।
सम्मेलनले सबै प्रदेशसभामा डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने, अन्तर व्यवस्थापिका मञ्चको सचिवालयको कार्य संघीय संसद् सचिवालयअन्तर्गतको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखामार्फत सञ्चालन गर्ने, क्षमता अभिवृद्धिका लागि व्यवस्थापिकीय प्रतिष्ठान स्थापना गर्न विशेष पहल गर्ने तथा संसदीय बजेट कार्यालय स्थापना प्रक्रियालाई अगाडि बढाउनेलगायतका सन्देश जारी गरेको हो।
सम्मेलनको समापन समारोह सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिहरूले जनताको विश्वास र अपेक्षाअनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड दिए। उनले संघीयता सुदृढीकरणका लागि प्रदेश सभाहरूबीच समन्वय, अनुभव आदानप्रदान तथा सहकार्य आवश्यक रहेको उल्लेख गरे।
समापन समारोहमा सभामुख अर्यालले सुदूरपश्चिम प्रदेश सभाका सभामुखलाई सन्देशपत्र हस्तान्तरण गरे। आगामी १२औँ अन्तर व्यवस्थापिका सम्मेलन कर्णाली प्रदेशमा आयोजना गरिने भएको छ।
सम्मेलन जेठ २२ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको थियो।

प्रतिक्रिया