नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले शुक्रबार पत्रकार सम्मेलन गरी जसरी पनि विशेष महाधिवेशन बोलाउनै पर्ने जनाएको छ।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गरी नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेको छ। त्यसलाई लिएर कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज अपराह्न ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
त्यसअघि विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशनका पक्षमा दबाब दिन खोजेको हो। पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन पक्षका नेता सुवाष पोखरेलले विशेष महाधिवेशन बोलाउनै पर्ने बताए।
‘आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। बैठकले विशेष महाधिवेशनका पक्षमा निर्णय गरोस्,’ पोखरेलले भने, ‘विशेष महाधिवेशन ऐच्छिक होइन, बाध्यकारी हो, बोलाउनै पर्छ।’
कांग्रेस विधानअनुसार, ५४.८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको उनले उल्लेख गरे।
उनीहरूलाई पार्टीका एकजुट बनाइराख्न पनि विशेष महाधिवेशन आवश्यक भएको जिकिर गर्दै पोखरेलले भने, ‘पार्टीको एकता बनाउँनुपर्छ, विन-विनमा जानुपर्छ। त्यो भनेको विशेष महाधिवेशन हो।’
आफूहरू पार्टी विभाजन गर्ने पक्षमा नरहेको उनको भनाइ थियो। पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन विशेष महाविधेशन माग गरेको उनले बताए।
Shares

प्रतिक्रिया