राजनीति


रास्वपाले सुदूरपश्चिमलाई उपेक्षा गरेको गुनासो, समानुपातिकमा कञ्चनपुरका २ जना मात्रै

रास्वपाले सुदूरपश्चिमलाई उपेक्षा गरेको गुनासो, समानुपातिकमा कञ्चनपुरका २ जना मात्रै

गोकुल जोशी
पुस १५, २०८२ मंगलबार १६:१२, कञ्चनपुर

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्। त्यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुझाएको सूचीलाई लिएर सुदूरपश्चिमका नेता तथा कार्यकर्ता असन्तुष्ट देखिएका छन्। 

रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा सुदूरपश्चिम प्रदेशबाट न्यून सहभागिता रहेको देखिएको छ। रास्वपाको ११० जनाको सूचीमा सुदूरपश्चिम ठेगाना भएका २ जनाको मात्रै नाम रहेको छ। 

रास्वपाको सूचीमा खस आर्य महिलाको पहिलो नम्बरमा प्रतिभा रावल र थारू पुरुष क्लस्टरबाट सोमप्रसाद चौधरीलाई उम्मेदवार बनाइएको छ। ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशबाट उम्मेदवारको सूचीमा परेका दुवै जनाको ठेगाना कञ्चनपुर उल्लेख छ। 

जबकि, रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र रहेको चितवन जिल्लाबाट २१ जना समानुपातिक सूचीमा परेका छन्। खस आर्यतर्फ ५० प्रतिशत उम्मेदवार चितवनकै छन्। 

रास्वपा सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्ट सुदूरपश्चिमका पाँच जना बन्दसूचीमा रहेको दाबी गर्छन्। तैपनि प्रदेशबाट समेट्नुपर्ने जति नसमेटिएको विष्टको भनाइ छ। 

‘जेनजी, बालेन, कुलमान लगायतका समेट्नुपर्ने हुनाले चाहेअनुसार भएको छैन। सुदूरपश्चिमको प्रतिनिधित्व गरेको उहाँहरूबाट नाम आएको होला,’ रास्वपा प्रदेश सभापति विष्टले नेपालखबरसँग भने, ‘को-को आउनुभएको छ, हेर्न पाइएको छैन।’

उनले रावल र चौधरीसँगै टीका संगौला (ज्वाला), अनुपकुमार उपाध्याय, करिश्मा कठरिया र गीता चौधरी पनि सुदूरपश्चिमकै भएको दाबी गरे। रास्वपाले बुझाएको बन्दसूचीमा संग्रौलाको झापा, उपाध्यायको चितवन, कठरियाको सोलुखुम्बु र चौधरीको भोजपुर ठेगाना उल्लेख छ। 

रास्वपा सुदूरपश्चिम प्रदेश सभापति विष्टले ज्वालालाई अछाम, गीता चौधरीलाई कञ्चनपुर र करिश्मा कठरियालाई कैलालीबाट समानुपातिक सांसदमा सिफारिस गरेको दाबी गरे। 

यससँगै बन्दसूचीमा परेका ११० जनामध्ये सुदूरपश्चिमको भागमा थोरै परेको र आन्तरिक प्रतिस्पर्धामा उत्कृष्ट मत प्राप्त गर्ने व्यक्तिलाई समेत उम्मेदवारमा नअटाएको भन्दै रास्वपा सुदूरपश्चिमका नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाएका छन्।

‘आफ्नो क्लस्टरमै उच्च मत प्राप्त गर्नु भएका सुदूरपश्चिमका युवा नेता विजय जैरू बन्दसूचीमा नअटाउनु पार्टीले बनाएको विधिमाथि नै प्रश्न उठ्ने निर्णय हो,’ रास्वपाका एक स्थानीय नेताले भने।

यो पनि पढ्नुहोस् : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad