कारोबार


रास्वपाबाट समानुपातिक सांसद बन्ने लाइनमा व्यवसायी पनि

रास्वपाबाट समानुपातिक सांसद बन्ने लाइनमा व्यवसायी पनि

नेपालखबर
पुस १५, २०८२ मंगलबार १३:१७, काठमाडौँ

प्रतिनिधिसभाको आउँदो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा व्यवसायीहरु पनि छन्।

रास्वपाले समानुपातिकतर्फ व्यवसायीहरुलाई पनि सूचीमा राखेको हो। सूचीमा अटाएकाहरुमा सचिन ढकाल, विदुषी राणा, लिमा अधिकारी (आचार्य), अनुष्का श्रेष्ठ, डा. राम लामालगायत छन्। 

सचिन ढकाल, विदुषी राणा र लिमा अधिकारी खस आर्य पहिचान समूह तथा डा. राम लामा र अनुष्का श्रेष्ठ आदिवासी जनजाति पहिचान समूहबाट समानुपातिक सूचीमा अटाएका छन्।

ढकाल खस आर्य क्लटरको पुरुषतर्फ दोस्रो नम्बरमा छन्। त्यसैगरी राणा खस आर्य क्लस्टरको महिलातर्फ दोस्रो नम्बरमा छिन्। लिमालाई रास्वपाले तेस्रो नम्बरमा राखेको छ।

लामा समानुपातिक सूचीकै पहिलो नम्बरमा हुँदा श्रेष्ठ समानुपतिक सूचीमा १८औँ नम्बरमा छिन्। 

ढकाल आईएमई ग्रुपका निर्देशक रहेका छन्। उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा समेत हुन्। फ्रेन्चाइज फुटबल क्लब एफसी चितवनका अध्यक्ष पनि रहेका छन्।

विदुषी राणा भने गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक हुन्। गोल्डस्टार नेपालमा मात्र नभई विदेशमा समेत निर्यात हुने गरेको छ। बहरेन, अमेरिकालगायतका देशमा गोल्डस्टारका आधिकारिक शोरुम नै खुलेका छन्।

त्यसैगरी सन् २०१९ को मिस नेपाल अनुष्का श्रेष्ठ ‘माक्कुसे’ लक्जरी मिठाइ ब्रान्डकी सञ्चालक हुन्। यो ब्रान्डले पुष्टकारी, गुँदपाक, कुकिज उत्पादन गर्छ। 

लिमा अधिकारी (आचार्य) यसअघि नै रास्वपाको कोषाध्यक्ष रहिसकेकी व्यक्ति हुन्। नेकपा एमालेका दिवंगत नेता भरतमोहन अधिकारीकी छोरी उनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सञ्चालक समिति सदस्य हुन्। उनको श्रीमान सुदीप आचार्य डिशहोमका कार्यकारी निर्देशक हुन्। 

डा. राम लामा भने ऊर्जा व्यवसायी हुन्। काठमाडौं विश्वविद्यालयका प्राध्यापक रहेका उनले मेकानिकल इन्जिनियरिङमा पीएचडी गरेका छन्। उनी ग्रिन हाइड्रोजन ल्याबका कोअर्डिनेटर रहेका छन्। जलविद्युत्मा उनको १० वर्ष बढीको औद्योगिक अनुभव रहेको छ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ का लागि तय गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad