नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले शिक्षकका समस्या समाधानका लागि विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने बताएका छन्।
सोमबार नेपाल शिक्षक संघको टोलीले सरकारले हालै संशोधन गरेको शिक्षा नियमावलीले शिक्षकका समस्या समाधान गर्नुको सट्टा झन् बल्झाएको, विशेषगरी सरुवा प्रक्रिया थप जटिल बनाएको भन्दै आङदेम्बेको ध्यानाकर्षण गराएको थियो। संघको टोलीसँगको छलफलका क्रममा आङदेम्बेले नियमावली संशोधन गरेर शिक्षकका समस्या समाधान नहुने बताए।
‘शिक्षकका मुद्दाप्रति नेपाली कांग्रेस संवेदनशील र गम्भीर छ। नियमावली संशोधन गरेर मात्रै हुँदैन, ऐन नै चाहिन्छ, त्यसका लागि कांग्रेस दुवै सदन र समितिमा हुने दफावार छलफलमा सरिक हुन्छ,’ उनले भने, ‘ऐनका लागि अब दह्रो लडाइँ लड्नुपर्ने अवस्था छ।’
उनले विगतमा कांग्रेसले शिक्षकका मुद्दालाई पर्याप्त प्राथमिकता दिन नसकेको स्वीकार गर्दै अब विद्यालय शिक्षा ऐन जारी गराउने विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। भेटमा नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरीले शिक्षा क्षेत्रका अधिकांश समस्या विद्यालय शिक्षा विधेयक लामो समयदेखि रोकिँदा उत्पन्न भएको बताए।
अघिल्लो प्रतिनिधि सभाले सबै राजनीतिक दलको सहमतिमा अघि बढाएको विधेयक अझै जारी हुन नसकेकोप्रति उनले असन्तुष्टि व्यक्त गरे। ‘विद्यालय शिक्षा ऐन तुरुन्त जारी हुनुपर्छ। ऐन आयो भने शिक्षकका धेरै समस्या समाधान हुन्छन्’ उनले भने।
बजेटमार्फत सबै राष्ट्रसेवक कर्मचारी र अधिकांश शिक्षकको तलब बढाइए पनि बालशिक्षामा बढाउने सहायक कार्यकर्ता, विद्यालय कर्मचारी तथा शिक्षण-सिकाइ अनुदानमा कार्यरत शिक्षकको तलब नबढाएर सरकारले शत्रूतापूर्ण व्यवहार गरेको अध्यक्ष गिरीको भनाइ थियो।
नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक महासंघको अधिकार संकुचित बनाउने प्रयास भएको र मन्त्रिपरिषद्बाट यसअघि अनुमोदित शिक्षकसँग सम्बन्धित नौबुँदे सहमति अझै कार्यान्वयन नभएको पनि बताए।
भेटघाटमा कांग्रेसको राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्त, सचेतक पदम परियार, प्रतिनिधि सभाकी प्रमुख सचेतक बासना थापा, शिक्षा समितिमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद डा. प्रमिला गच्छदारलगायत सहभागी थिए।
Shares

प्रतिक्रिया