राजनीति


प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ

प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ

नेपालखबर
पुस ६, २०८२ आइतबार २२:६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार र जेनजी समूहबीच भएको सम्झौता कार्यान्वयनमा जोड दिएका छन्। 

आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ताका क्रममा लामिछानेले जेनजीसँगको सम्झौता हुबहु कार्यान्वयन हुनुपर्ने बताएका हुन्। 

प्रधानमन्त्री निकट स्रोतका अनुसार फागुन २१ गते हुने प्रतिनिध सभा निर्वाचनको तयारी तीब्र बनाउन पनि लामिछानेले आग्रह गरे। उनले निर्वाचनका लागि राज्यले सम्पूर्ण ध्यान केन्द्रित गर्न, अध्यादेशमार्फत आवश्यक कानुन ल्याउन र निर्वाचन आयोगलाई आवश्यक पर्ने सरसामग्रीको तत्काल व्यवस्था गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

जवाफमा प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनमा केन्द्रित रहेको र तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरिन्। उनले निर्वाचन बिथोल्न वा सार्न खोज्नेहरू सक्रिय हुनसक्ने भन्दै दलहरूले पनि सबै ध्यान निर्वाचनमै केन्द्रित गर्नुपर्ने बताइन्।

प्रधानमन्त्री कार्कीलाई भेट्न सभापति लामिछाने उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले लगायत नेतालाई लिएर आइतबार साँझ बालुवाटार पुगेका थिए। भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी थिए।

सहकारी ठगी प्रकरणमा शुक्रबार कारागारबाट रिहा भएका उनी आज पार्टी बैठकको अध्यक्षता गरी प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो भेट हो। लामिछानेले जेलबाट छुटे लगत्तै सरकारप्रति समर्थन जनाएका थिए।

प्रधानमन्त्री कार्की प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भने भेट गर्न अनिच्छुक रहँदै आएकी छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad