राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई जनताको शक्तिमा विश्वास रहेको बताएका छन्।
सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भई करिब ८ महिनापछि केन्द्रीय कार्यालय पुगेका उनले ४० लाखले हस्ताक्षर गरेर आफू एक्लो नरहेको महसुस गराएको बताए।
‘मलाई जनताको ताकतमा विश्वास छ,’ लामिछानेले भने, ‘मैले विभिन्न व्यक्तिहरूसँग भेटघाट गरेर कुरा बुझ्न बाँकी छ। त्यसपछि म अरू धेरै राजनीतिक टिप्पणी गर्नेछु।’
न्यायको लडाइँ अझै जारी रहेको उल्लेख गर्दै उनले भने, ‘मैले न्यायको लडाइँ लड्न अझै बाँकी नै छ। तर मलाई विश्वास छ-सत्यले हारेको छैन।’
आफ्नो पक्षमा चलेको हस्ताक्षर अभियानप्रति आभार व्यक्त गर्दै लामिछानेले भने, ‘यो लडाइँमा तपाईंहरूले जुन साथ र हौसला दिनुभयो, त्यसका लागि म आभारी छु। विशेषगरी हस्ताक्षर अभियानमार्फत ४० लाख जनाले ‘तपाईं एक्लै हुनुहुन्न’ भन्ने हौसला दिनुभयो।’
आफ्नो अनुपस्थितिमा पार्टीको जिम्मेवारी सम्हालेका कार्यवाहक सभापति डीपी अर्याललाई धन्यवाद समेत दिए।
‘मेरो अनुपस्थितिमा कार्यवाहक सभापति डीपी अर्याललाई धन्यवाद दिन चाहन्छु। अन्य सबै साथीहरूको योगदानलाई पनि एकमुष्ट स्मरण गर्न चाहन्छु,’ लामिछानेले भने।
पार्टीबाट अलग भएकाहरुलाई आफ्नै कारणले बाहिरिएको भन्दै शुुभकामना समेत दिए। ‘आफ्नै कारणले छुट्टिएर गएका साथीहरूलाई पनि म शुभकामना दिन चाहन्छु। हाम्रा लागि तपाईंहरूले धेरै योगदान दिनुभएको छ,’ लामिछानेले भने।
Shares

प्रतिक्रिया