भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्राडा कुमार इङ्नामले नेपालको नीति निर्माण तहमा रहेको नैतिक पतन देशको निरन्तर गरिबीको मुख्य कारक रहेको बताएका छन्।
काठमाडौं स्कूल अफ ल कलेजमा श्रीजंग राय पापो समाज र इङ्नाम इवाहाङ पापो थोबो साङ्जुम्भो इङ्नाम चेलीबेटी समाजद्वारा संयुक्त रूपमा आयोजित अभिनन्दन कार्यक्रममा बोल्दै मन्त्री इङ्नामले यस्तो बताएका हुन्।
‘म कुनै व्यक्ति विशेषको लागि वा स्वार्थबाट प्रेरित भएर काम गर्दिनँ’, उनले भने, ‘नीति निर्माण तहमा बस्ने व्यक्तिहरू प्रायः स्वार्थको द्वन्द्व हुने कार्यमा संलग्न हुन्छन्, जसले नेपालमा भ्रष्टाचारलाई प्रश्रय दिइरहेको छ। यही आचरणका कारण देश कहिल्यै गरिबीबाट माथि उठ्न सकेन।’
मन्त्री इङ्नामले प्रणालीगत भ्रष्टाचार र अवसरको खोजीमा नेपाली युवाहरूको ठूलो संख्यामा भइरहेको वैदेशिक पलायनबीच प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गरे।
नेपाललाई ‘देवभूमि’को रूपमा पुजिने गरिए तापनि नेतृत्वको नैतिक स्तर भने लोभका कारण ‘दानवीय’ प्रवृत्तितर्फ खस्किएको उनको भनाई थियो।
मन्त्री इङ्नामले आफ्ना समर्थक र आम सर्वसाधारणलाई आफ्नो पदको गरिमा र निष्ठाको सम्मान गर्न आग्रह गर्दै व्यक्तिगत लाभका लागि प्रचलित कानुनी ढाँचा मिच्न आफूलाई दबाब नदिन समेत आग्रह गरे।
करिब तीन दशकदेखि काठमाडौं स्कूल अफ लमा प्राध्यापनरत डा. इङ्नाम गत मंसिर २६ गते भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
कार्यक्रममा पूर्व प्रशासक, मुन्धुमविद् तथा लेखक भागिराज इङ्नाम र नेपाल चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा लगायतको उपस्थिति रेहेको थियो।
Shares

प्रतिक्रिया