राजनीति


श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले ४ दिनभित्र २ उपाध्यक्षलाई गरे कारबाही

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले ४ दिनभित्र २ उपाध्यक्षलाई गरे कारबाही

कारबाही गरिएका श्रम संस्कृतिका पार्टीका केन्द्रीय अध्यक्षद्वय मित्र परियार र राजकुमार तामाङ


नेपालखबर
पुस ६, २०८२ आइतबार १०:६, काठमाडौँ

धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ४ दिनभित्र आफ्ना दुई उपाध्यक्षलाई कारबाही (निलम्बन) गरेको छ।

अध्यक्ष साम्पाङले प्रहरीको हिरासतमा रहेका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको ३ दिनपछि शनिबार अर्का उपाध्यक्ष डा मित्र परियारलाई पनि कारबाही गरेका हुन्। 

साम्पाङले शनिबार (पुस ५ गते) सामाजिक सञ्जालमा लेखेका छन्, `श्रम संस्कृतिमा कोही सानो, कोही ठुलो हुँदैन। आज शनिबार उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सह-संयोजकलाई बोलेको अपमानजन्य बोलीका कारण आचारसंहिता उल्ल‌ंघन भएकोले नसच्चिएसम्म कारबाही गरिएको जानकारी गराउँदछु।’

शनिबार देशदौडाहा कार्यक्रमअन्तर्गत श्रम संस्कृति पार्टीले रुपन्देहीको बुटवलमा सभा आयोजना गरेको थियो। जसलाई उपाध्यक्ष परियारले पनि सम्बोधन गरेका थिए। 

तर त्यस क्रममा परियार आयोजकप्रति आक्रोशित हुँदै बोलेका थिए।

त्यस सम्बोधनको सार्वजनिक भिडिओमा परियार भनिरहेका छन्, ‘साथीहरू! यहाँ आयोजक साथीहरूले अलिकति मिस्टेक गर्नुभएको छ। ध्यान त्यता बोल्ने यता हुन सक्दैन साथीहरू।...म केन्द्रीय उपाध्यक्ष हो, मैले पनि बोल्न पाउनुपर्छ, ध्यान अन्त मोडिनु हुँदैन।...’

यसअघि अर्का उपाध्यक्ष तामाङलाई भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि श्रम संस्कृति पार्टीले निलम्बन गरेको थियो। 

उनको सन्दर्भमा अध्यक्ष साम्पाङले पुस २ मा विज्ञप्ति जारी गरी भनेका छन्, ‘सरकारी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्ना खातिर अनुसन्धानको अन्तिम टुंगो नलागुन्जेलसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्षको पदबाट निलम्बन गरिएको बेहोरा सबैलाई जानकारी गराउँदछु।’

राजकुमारविरुद्ध जिल्ला प्रहरी कार्यालय, पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी मुद्दा दर्ता भएको छ। त्यही मुद्दामा उनलाई सीआईबीले गत मंगलबार बुढानीलकण्ठ नगरपालिका-११ कपनबाट पक्राउ गरेको थियो। थप कारबाहीका लागि उनलाई पाँचथर पठाइएको छ। 

धनकुटाको पार्खिवास नगरपालिका-९ का ५० वर्षीय राजकुमार काठमाडौँको बुढानीलकण्ठ-११ कपनमै बस्ने गर्थे। उनी यसअघि पनि जेल सजाय भोगिसकेका व्यक्ति हुन्।

उपाध्यक्ष मित्र परियारका सन्दर्भमा भने साम्पाङले सामाजिक सञ्जालमार्फत कारबाही मात्र भनेका छन्। तर कस्तो कारबाही प्रस्ट पारेका छैनन्। यद्यपि उनले ‘नसच्चिएसम्म कारबाही’ भनेकाले उपाध्यक्ष राजकुमारलाई झैँ उनलाई पनि निलम्बन गरिएको बुझ्न सकिन्छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad