प्रदेशमा मिलेर सरकार गठन गर्ने सहमति गरेका नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू साझेदारीको मोडालिटी र भागबण्डा टुंग्याउन छलफलमा बस्ने भएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालबीच संवाद हुन लागेको हो। पछिल्ला दिन प्रत्यक्ष र अप्रत्यक्ष संवादमा रहेका ओली र प्रचण्डले नेपाललाई पनि सँगै राखेर प्रदेशको भागबण्डाको मोडालिटी बनाउने भएका हुन्।
शुक्रबार नै तीन नेताबीच भेट हुने भनिए पनि पुष्पलाल श्रेष्ठ स्मृति दिवसको सन्दर्भमा आयोजित विचार गोष्ठीमा नेताहरू सहभागी भएपछि भेटघाट रोकिएको हो।
‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक सो कार्यक्रममा प्रचण्ड, नेपालसँगै एमालेबाट प्रदीप ज्ञवाली, नेकपा मसालबाट मोहनविक्रम सिंह लगायत वक्ता थिए।
नेकपाका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले तीन नेता बसेर प्रदेश सरकार गठन र आगामी सहकार्यको मोडालिटी तयार पार्ने बताए।
‘शीर्ष नेताहरू निरन्तरजसो संवादमा त हुनुहुन्छ अब लिखित गर्नेगरी फेरि बस्नुहुन्छ,’ उनले भने, ‘प्रदेश सरकारको भागबण्डा र मन्त्रालयको विषयमा एउटा निचोड निकाल्नुहुन्छ।’
एमाले अध्यक्ष ओलीको सचिवालय हेरिरहेकी निरुदेवी पालले पनि नेकपाका नेतासँग निरन्तर संवाद भइरहेको बताइन्।
‘नेताहरूसँग अध्यक्षज्यूको कुराकानी भइराखेको छ, एकदुई दिनमा अब प्रदेश सरकारमा नेकपा र एमालेबीच सहमति जुट्छ होला,’ पालले भनिन्।
त्यसो त केही प्रदेश सरकारमा समस्या आएको भन्दै एमालेले तत्काल टुंगो लगाउन आग्रह गरेको छ।
तर, नेकपाका नेताहरु कांग्रेससँग पनि छलफलमै छन्। नेकपाले सकभर प्रदेश सरकारमा तीन दल मिलेर जाँदा राम्रो सन्देश जाने भन्दै छलफल जारी राखेको नेता प्रमेश हमाल बताउँछन्।
यद्यपि, नेकपाको सो प्रस्ताव कांग्रेसले अस्वीकार गरेको छ।
कांग्रेसका मुख्यमन्त्रीले सुदूरपश्चिममा एमालेका मन्त्री बर्खास्त गरेका थिए। कांग्रेसको नेतृत्वमा रहेको बागमती सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्। कर्णालीमा कांग्रेसका मन्त्रीले राजीनामा दिएर मुख्यमन्त्री यमलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
अहिलेसम्म लुम्बिनी, कोसी र गण्डकीमा भने एमाले र कांग्रेस गठबन्धन कायमै छ।
त्यही भएर एमाले र नेकपा मिलेर प्रदेश सरकार पुनर्गठन गर्ने तयारी भइरहेको हो। तथापि, अझ ैपनि कुरा मिलिसकेको छैन।
एमालेले अहिले नेतृत्व गरिरहेको कोसी, कर्णाली र लुम्बिनीसहित गण्डकी प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ। नेकपाले आफ्नो सांसद बढी भएको प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको छ।
तर, ओलीसहित एमालेबाट वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा, महासचिव शंकर पोखरेल र नेकपाबाट प्रचण्ड, नेपाल, वर्षमान पुन लगायत नेता बसेर यसबारे निर्णय गर्नेछन्।
स्थानीय तहदेखि केन्द्रसम्म एमालेसँग कार्यगत एकता गर्दै पार्टी एकताको तयारी अनुरुप प्रदेश सरकारमा मिलेर जाने सहमति गरेको नेकपाका वरिष्ठ नेता जगन्नाथ खतिवडाको भनाइ छ।
Shares

प्रतिक्रिया