सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी बल पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएका छन्।
साउन ८ गते शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा सुरक्षालाई थप सुदृढीकरण र प्रभावकारी बनाउन सरोकारवाला निकाय तथा स्थानीय जनताहरुसँग निरन्तर समन्वय र सहकार्य गरी अगाडी बढेको बताए।
उनले खुल्ला सीमानाका कारण राष्ट्रिय सुरक्षामा थप चुनौती भएको हुँदा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको जनशक्ति, प्राप्त स्रोतसाधन, प्रचलित कानून, अन्य सुरक्षा निकायसँगको समन्वय र स्थानीय वासिन्दाहरुसँग सहकार्य गरी सीमा सुरक्षालाई थप मजबुद बनाउदै लैजाने बताए।
महानिरीक्षक पौडेलले विशेष गरी क्रस बोर्डर तथा दशगजा क्षेत्रको रेखदेख, तेस्रो देशका नागरिकहरुको आगमन, अवैध चोरीतस्करी, हातहतियार, लागूऔषध ओसार पसार लगायत अवैध वन्यजन्तु तथा काठ तस्करी नियन्त्रणमा समेत अन्य सुरक्षा निकायको समन्वय र सहकार्यमा नियन्त्रण गर्दै आईरहेको बताए।
त्यस्तै मानव वेचविखनका घटनारुमा समेत सशस्त्र प्रहरी बल नेपालले सम्बन्धित निकायहरुसँग समन्वय गरी नियन्त्रण गर्दै आईरहेको बताउनुकासाथै सीमा क्षेत्रमा हुने विपद् उद्धारका कार्यमा सहज होस भन्ने अभिप्रायकासाथ सशस्त्र प्रहरी बल नेपालले भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँगको समन्वयमा विपद् रोकथामका कृत्रिम अभ्यासहरु समेत संचालन गर्दै आईरहेको बताए।
उनले हाल नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले २ सय ६० वटा बोर्डर आउट पोष्टहरु स्थापना गरी सीमा क्षेत्रको निगरानी र सुरक्षा गर्दै आईरहेको र भविष्यमा समेत सो बोर्डर आउट पोष्टलाई थप गरी ४ सय २५ वटा बनाउने योजना रहेको बताए।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले करीव १ हजार ८ सय ८० किलोमिटर समिा क्षेत्र रहेको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको २ सय ४९ बोर्डर आउट पोष्टले मात्र सीमा क्षेत्रको सुरक्षा गर्न कठिनाई परेको बताउनुहुँदै थप जनशक्ति र भौतिक स्रोतसाधन लागि नेपाल सरकार गृहमन्त्रालय तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य भई रहेको बताए।
उनले सीमामा रहेका स्थानीय वासिन्दाहरुसँग कसरी नजिक हुन सकिन्छ र उनीहरुसँग कसरी सहयोग लिन सकिन्छ भन्ने उद्देश्यकासाथ सशस्त्र प्रहरी बल नेपालले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमामा बसोवास गर्ने स्थानीय वासिन्दाहरुसँग प्रत्यक्ष समन्वय र सहकार्य गरी विभिन्न कार्यक्रहरु संचालन गर्दै आईरहेको र यसबाट राजश्व चुहावट तथा अवैध चोरीनिकासीमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमामा बसोवास गर्ने युवाहरुलाई रोजगार र दैनिक जीविका आर्जनमा समेत सहयोग होस भन्ने भावनाकासाथ सशस्त्र प्रहरी बल नेपालले विभिन्न सीप मूलक तालिम संचालन गर्नुकासाथै त्यस क्षेत्रका गरीव, जेहेन्दार छात्रछात्रा तथा वृद्धवृद्धाहरुलाई खाद्यान्य, लत्ताकपडा, शैक्षिक सामाग्री तथा निःशुल्क स्वास्थ्य जाँच गरी औषधीहरु समेत वितरण गर्दै आईरहेको बताए।
उनले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलापका साथै आपद् विपद्मा परेका नागरिकहरुको उद्धार र सहयोगमा प्रत्यक्ष सहयोग पुग्ने विश्वासकासाथ सशस्त्र प्रहरी बल नेपालले २४ सै घण्टा पैदल गस्ती गरिरहेको र यसबाट क्षेत्रका स्थानिय वासिन्दाहरुसँग अन्तरक्रिया गरी सीमा अपराध र अवैध क्रियाकलाप रोकथाममा सहज पुग्ने बताए।
महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालको मुख्य जिम्मेवारीमध्ये सीमा सुरक्षालाई प्रमुख दायित्वमा राखी संगठनमा रहेका आधा भन्दा बढी जनशक्ति सीमा क्षेत्रमा परिचालन गर्नुकासाथै नेपाल सरकार गृहमन्त्रालयबाट स्वीकृत लिई सीमा तथा दशगजना क्षेत्रमा रहेका सीमा चिन्हहरुको रंगरोगन तथा मर्मत सम्हार गर्दै आईरहेको बताए।
उनले सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल नेपालको जनशक्ति कम भएको कारण खुल्ला सीमानालाई आगामी दिनमा डिजिटल बोर्डरको रुपमा अगाडी बढाउन सकियो भने खुल्ला सीमाना एउटा आफैमा सिष्टोमेटिक हुँदै जाने विश्वास व्यक्त गर्दै मजकुर गृहमन्त्रालयबाट प्राप्त सहयोगले अन्य डिवाईस उपकरण जोड्ने कार्यलाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे।
Shares

प्रतिक्रिया