राजनीति


सांसदलाई स्वकीय सचिव दिने निर्णय खारेजीको माग गर्दै जेनजीको प्रदर्शन

सांसदलाई स्वकीय सचिव दिने निर्णय खारेजीको माग गर्दै जेनजीको प्रदर्शन

नेपालखबर
साउन ९, २०८३ शनिबार १४:४७, काठमाडौँ

प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको संख्या थप गर्ने सरकारी निर्णयको विरोधमा प्रदर्शन गरिएको छ। 

राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा शनिबार काठमाडौँको माईतीघर मण्डलमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा उत्रिएका युवाले राज्यकोषको दुरुपयोग गरी विलासिता बढाउन लागिएको भन्दै सरकार र संसद्को ध्यानाकर्षण गराएका छन्। 

प्रदर्शनमा सहभागी अभियानकी सदस्य सुप्रिया नेपालीले मुलुकको दुर्गम क्षेत्रमा सामान्य औषधोपचारको समेत अभाव रहेका बेला सांसदका लागि स्वकीय सचिवको संख्या बढाउनु नीतिगत रूपमा गलत भएको बताइन्। कर्णाली र सुदूरपश्चिम जस्ता क्षेत्रमा १० रुपैयाँको सिटामोल पाउन गाह्रो भइरहेको अवस्थामा जनताले तिरेको करबाट स्वकीय सचिवका नाममा सुविधा थप्नु न्यायोचित नहुने नेपालीको भनाइ थियो। 

सांसदहरूले सामाजिक सञ्जालमार्फत स्वकीय सचिवका लागि विज्ञापन आह्वान गरेको विषयप्रति लक्षित गर्दै उनले लोकसेवा आयोगको तयारी गरिरहेका युवाको भावनामा चोट पुगेको बताइन्। दिनरात पढेर निजामती सेवामा प्रवेश गर्न चाहने युवा आर्थिक सङ्कटमा रहेका बेला बिना प्रतिस्पर्धा राजनीतिक नियुक्ति गरिनु सुशासनको उपहास भएको उनको भनाइ थियो। 

सांसदलाई राजधानी केन्द्रित विलासितामा मात्र नभई दुर्गम पहाडी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न र त्यहाँको सेवा प्रवाहमा केन्द्रित हुन अभियानले आग्रह गरेको छ।

पछिल्लो समय सांसदहरूले एकभन्दा बढी स्वकीय सचिव राख्न पाउनुपर्ने माग गरिरहेको र कतिपयले अनौपचारिक रूपमा कर्मचारी नियुक्तिको प्रक्रिया सुरु गरेको भन्दै युवाले विरोधमा उत्रिएका हुन्। सरकारले सांसदलाई अतिरिक्त सुविधा उपलब्ध गराएर राज्यमाथि थप आर्थिक भार सिर्जना गरेको उनीहरूको भनाइ छ। 

यो कदम सुशासनको सिद्धान्त र जेनजी आन्दोलनको मूल मर्म एवं भावनाविपरित रहेको उनीहरूले बताएका छन्। यो निर्णय तत्काल खारेज गर्न माग गर्दै सांसदका लागि विनियोजन गरिएको सो रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad