कला


बालेनकै अगाडि बालेन बन्न मन छ : सुन्दर खनाल (भिडिओ)

‘नाम सुन्दर हुनु नै मेरो जीवनको सबैभन्दा ठूलो कमेडी हो’

अनिल यादव
साउन ८ , काठमाडौँ

अस्पतालको चिसो बेड। वरिपरि औषधिको गन्ध। कोठाको एकातिर बुवा टोलाइरहेका छन्, अर्कोतिर आमाका आँखाबाट बलिन्द्र धारा आँसु। बीचमा एउटा किशोर छ, जसको घाँटीमा ‘टन्सिल’ले गाँठो पारेको छ। ऊ न बोल्न सक्छ, न कराउन। हजारौँलाई हँसाउने सपना बोकेको एउटा आरजे र उदीयमान कलाकारका लागि त्यो शून्यता मृत्युभन्दा भयानक थियो।

हो, यो कुनै फिल्मको दृश्य होइन, कमेडियन सुन्दर खनालको जीवनको त्यो मोड हो, जहाँ उनले आफ्नो स्वर मात्र होइन, सपना नै गुम्ने डरमा कैयौँ रात अनिदो बिताए। 

दुनियाँलाई हँसाउने मान्छेको भित्री मन कति रुन्छ होला? सुन्दरको जीवनका ३–४ वर्ष यस्ता थिए, जहाँ उनले हाँस्न त के, बोल्न समेत संघर्ष गर्नुपर्‍यो। १२ कक्षा पढ्दै गर्दा घाँटीको समस्याले उनलाई थला पार्‍यो। डाक्टरले ‘अप्रेसन’ गर्नुपर्छ भन्दा उनको कलाकारिताको भविष्य नै अन्धकार देखियो।

नेपालखबर सो ‘लेट्स टक’मा आइपुगेका सुन्दर त्यो क्षण सम्झिँदा अहिले पनि भावुक हुन्छन् र भन्छन्, ‘त्यो लाइफ र डेथको सिचुएसन जस्तै थियो। बुवा एकातिर रोइराख्नुभएको थियो, मम्मी अर्कोतिर अनि म बीचमा। मेरो लाइफको सबैभन्दा इमोसनल पार्ट नै त्यही हो।’

यद्यपि, स्वर गुमेको त्यो समयमा सुन्दरले हार भने मानेनन्। क्यारिकेचर गर्न नसके पनि उनले युट्युबमा अन्तर्वाता लिन थाले, लेख्न थाले। आखिरमा, स्वर फर्कियो र नेपाली कमेडी क्षेत्रले एउटा निखारिएको हास्य कलाकार पायो।

आज तिनै सुन्दर टेलिभिजनको पर्दामा कहिले ‘भष्मे डन’ बनेर गर्जिन्छन्, कहिले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सामीप्यमा पुगेर उनीहरूलाई नै चकित पार्छन्। उनका लागि कमेडी हँसाउनु मात्र होइन। 

भन्छन्, ‘कमेडियनहरू पनि रुन्छन् नि! इमोसन हो। मलाई अहिले कमेडी एक्टभन्दा इमोसनल एक्ट गर्न मज्जा लाग्छ किनभने त्यसमा मान्छेको रियल कथा र व्यथा बोल्न पाइन्छ।’

‘कमेडी च्याम्पियन’बाट सुरु भएको सुन्दरको कमेडी यात्रा अहिले आफ्नै लगानीको ‘कमेडी बाज’सम्म आइपुगेको छ। तर, सुन्दरका आँखामा अझै एउटा ‘सुन्दर’ धोको छ, जुन अहिलेसम्म पुरा हुन बाँकी छ।

प्रधानमन्त्री बालेन शाह अहिलेका सबैभन्दा बढी लोकप्रिय र फ्यान फलोइङ भएका पात्र हुन्। सुन्दर उनै बालेनको लवज र शैलीलाई दुरुस्तै उतार्न चाहन्छन्। तर उनलाई अरू कलाकारले जस्तो बालेन नभएको ठाउँमा उनको नक्कल उतार्नु छैन। सुन्दरको एउटा दृढ इच्छा छ– बालेन शाहकै अगाडि उभिएर, उनकै आँखामा आँखा जुधाएर उनको क्यारिकेचर गर्ने। 

भन्छन्, ‘अलि अगाडिदेखि मलाई बालेन शाहकै क्यारेक्टर गर्न मन छ। उहाँकै अगाडि मात्र म त्यो क्यारेक्टर गर्न चाहन्छु। उहाँकै अगाडि गर्दा त्यसको प्रभाव पनि छुट्टै हुन्छ र आफूले भन्न चाहेका कुराहरू उहाँलाई नै सुनाउन मज्जा आउँछ। उहाँ अगाडि नभईकन मलाई बालेनको क्यारेक्टर गर्नै मन छैन।’

सुन्दरले अहिले ‘कमेडी बाज’ नामक रोस्ट सो सुरु गरेका छन्। सेलिब्रेटीलाई नै अगाडि राखेर उनीहरूको कमजोरी र स्वभावमाथि ठट्टा गर्ने यो विधा नेपालमा अझै पनि जोखिमपूर्ण मानिन्छ। कोही रिसाइदेला कि, कसैले चित्त दुखाउला कि भन्ने डरका बिच उनले यसमा लगानी गरेका छन्।

अतिथिको अभाव र नेपाली समाजको मानसिकताले गर्दा सो सञ्चालन गर्न निकै चुनौती रहेको उनी स्वीकार्छन्। 

‘नेपाली समाजमा यो रोस्ट विधा अझै मासमा पपुलर भइसकेको छैन,’ उनले भने, ‘यत्रो लगानी गरिसकेपछि रेभेन्यु जेनेरेट भएन भने गाह्रो हुन्छ, त्यसैले हामीले अलिकति फर्म्याट चेन्ज गरेर मासलाई टार्गेट गर्नुपर्ने भएको छ। त्यसकै तयारी गरिरहेका छौँ।’

कुराकानीको अन्त्यतिर हामीले सुन्दरलाई सोध्यौँ– ‘तपाईंको जीवनको सबैभन्दा ठूलो कमेडी के हो?’ जवाफमा उनले मुसुक्क हाँस्दै भने, ‘मेरो नाम सुन्दर हुनु नै मेरो जीवनको सबैभन्दा ठूलो कमेडी हो।’

मानिसहरू उनलाई टेलिभिजनमा देखेर हाँस्छन्, तर सुन्दर भने पर्दा पछाडि गम्भीर पात्र अध्ययनमा व्यस्त हुन्छन्। मदनकृष्ण श्रेष्ठको क्यारेक्टर गर्दा उनी मदनकृष्ण नै बन्छन्, विपिनको कार्कीको गर्दा विपिन नै। उनले गरेको ‘भष्मे डन’को क्यारेक्टरले त झन् विपिनलाई समेत चकित पारेको थियो।

गर्मीको रापमा चस्मा लगाएर हिँड्दा होस् वा स्टेजमा चहकिलो लाइटको बिचमा उभिएर दर्शकको ताली खाँदा, सुन्दरलाई सधैँ एउटा कुराले सताउँछ– मान्छेको पीडा कसरी भुलाइदिने? 

भन्छन्, ‘म बिरामी हुँदा कपिल शर्माको सो हेर्थें र आफ्नो पीडा भुल्थेँ। अहिले मलाई कतिपय दर्शकले भन्नुहुन्छ– तपाईंको कमेडी हेरेर म बिरामी हुँदा हाँसेको थिएँ। सायद कलाकारको सबैभन्दा ठूलो शक्ति नै यही हो।’

हेर्नहोस्, सुन्दरसँग गरिएको हाँसो र आँसुका कथा मिश्रित रमाइलो भिडिओ कुराकानी ‘लेट्स टक’: 

फोटो/भिडिओ : प्रदिप दाहाल

साउन ८, २०८३ शुक्रबार २२:२९ | July 24, 2026

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad