राजनीति


एमालेमा बादललाई दोस्रो वरीयता

एमालेमा बादललाई दोस्रो वरीयता

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १५:३६, काठमाडौँ

नेकपा (एमाले)को एघारौँ महाधिवेशनबाट निर्वाचिन नयाँ केन्द्रीय कमिटीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दोस्रो वरीयतामा राखिएको छ। 

एमालेको एघारौँ महाधिवेशनपछि शुक्रबार नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ। कार्की ब्यांकेटमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीपछि बादललाई दोस्रो वरीयतामा राखिएको छ। 

अध्यक्षको ओलीको दाहिनेतिर पहिलो नम्बरमा बादल बसेका छन्। त्यसपछि क्रमशः विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त छन्। बादलसहित पाँचै जना उपाध्यक्षमा निर्वाचित भएका हुन्। 

दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा बादल पाँचौँ बरियतामा थिए। दोस्रोमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरल, तेस्रोमा उपाध्यक्ष युवराज ज्ञवाली र चौथोमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य रहेका थिए। यस पटक वरिष्ठ उपाध्यक्ष पद राखिएको छैन। 

यसअघि पनि पौडेल उपाध्यक्ष नै थिए। उनी यसअघि छैटौँ वरीयतामा रहेका थिए। अहिले तेस्रो वरियतामा पुगेका छन्। 

गुरुङ भने उपमहासचिवबाट उपाध्यक्ष बनेका हुन्। दशौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भएका उनी एघारौँ वरीयतामा थिए। 

त्यस्तै, विष्टले सचिवबाट उपाध्यक्षमा फड्को मारेका हुन्। दशौँ महाधिवेशनबाट सचिवमा निर्वाचित भएका उनी १४औँ वरीयतामा थिए। 

पन्त स्थायी कमिटी सदस्यबाट सिधैं उपाध्यक्ष बनेका हुन्। उनी दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए। त्यतिवेला उनी एमाले केन्द्रीय कमिटीमा २३औँ नम्बरमा थिए। 

फेरि महासचिव बनेका शंकर पोखरेल भने सातौँ वरीयतामा रहेका छन्। गत महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा नवौँ वरीयतामा थिए। 

गत महाधिवेशनले वरिष्ठ उपाध्यक्ष र सात वटा उपाध्यक्ष चयन गरेको थियो। अहिले वरिष्ठ उपाध्यक्ष हटाइएको छ भने उपाध्यक्ष सातबाट घटाएर पाँच बनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad