एमालेको एघारौँ महाधिवेशनका प्रतिनिधि घनश्याम कोइरालाले आफू निदाएकाले मतदान गर्न नपाएको प्रष्टिकरण दिएका छन्।
बुधबार बिहान उनले सामाजिक सञ्जालमा प्रष्टिकरण दिँदै मतदान नगरेकोमा आत्मालोचनासमेत गरेका छन्।
‘केही साथीहरूलाई समय सङ्केत गर्न अनुरोध गरेर राति घर गएको थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिहान पुग्दा ढिलो भयो। मतदान सकियो भन्ने सूचना पाएपछि बाटोबाटै घर फर्किएँ। गल्ती भएकै हो। आत्मालोचित छु।’

एमाले महाधिवेशनको मतदान प्रक्रिया अत्यन्तै झन्झटिलो भएको गुनासो प्रतिनिधिले गरेका थिए।
विद्युतीय मेसिनबाट भएको मतदान झण्डै २२ घण्टामा सकिएको छ। प्रतिनिधिले पुसको जाडोमा रातभर जागा बसेर मतदान गरेका छन्।
तर, प्रतिनिधि छनोट भएकामध्ये ३६ जना मतदान प्रक्रियामै सहभागी भएनन्। केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र अर्यालले पनि एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा सहभागी नभएको जानकारी दिएका छन्।
उनले ‘नो भोटको सदुपयोग’ गरेको प्रतिक्रिया दिएका छन्।
Shares

प्रतिक्रिया