नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि जारी मतदानमा १० घण्टामा १ हजार २ सय मत खसेको छ।
मतदानका लागि साँझ ८ बजेसम्मको समय तोकिएको थियो। अब त्यसलाई बढाएर राति १० बजे पुर्याइने एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा.कुन्साङ लामाले नेपालखबरलाई बताए।
८० वटा भोटिङ मेसिन उपयोग गरिए पनि मतदान सुस्त भइरहेको हो।
लामाका अनुसार साँझ ७:१५ सम्म १ हजार २ सय मतदान भएको छ। 'आठ बजे सकिएला भनेको नसकिने भएपछि १० बजेसम्मलाई समय बढाउँदैछाैँ, सचिव लामाले नेपालखबरसँग भने,'त्यति बेलासम्म पनि सकिएन भने के गर्ने भनेर त्यति बेलै निर्णय हुनेछ।'
११ औँ महाधिवेशनको चुनावी मैदानमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलसहित करिब ६ सय ५० जना उम्मेदवार रहेका छन्।
२ हजार २ सय ६३ प्रतिनिधि छन्। एक जना प्रतिनिधिले सबै गरी ३ सय हारहारी पदका लागि भोट हाल्नुपर्छ। मतदान गर्न एक जना प्रतिनिधिलाइ सरदर ३० मिनेट लागिरहेछ।
अनि मत परिणाम?
थप गरिएको समय राति १० बजेसम्म मतदान सकिने हो वा हैन यकिन छैन। मतदान गर्न धेरै समय लागे पनि गणनामा धेरै समय लाग्ने छैन। ८० वटा मेसिनमा भएको मत संख्या जोडेर निर्वाचन आयोगले प्रमाणीकरण गर्दा ४-५ घण्टामा मतपरिणाम अउने अपेक्षा छ।
Shares

प्रतिक्रिया