साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत राउन्ड रोबिनको अन्तिम खेलमा घरेलु टोली एपीएफ फुटबल क्लब र भारतको इस्ट बंगालले बराबरी खेलेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो। आगामी शनिबार यी दुई टोली उपाधिका लागि भिड्नेछन्। फाईनल खेल शनिबार साँझ ५ बजे सुरु हुनेछ।
आजको खेलको ४९औं मिनेटमा इस्ट बंगालकी रेष्टी ननजिरीको शसक्त प्रहार एपीएफकी गोलरक्षक अञ्जना राना मगरले बचाइन्। खेलको ४२औं मिनेटमा रश्मीकुमारी घिसिङले डिबक्स नजिकबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरियो।
पहिलो हाफमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका बनाए पनि गोल गर्न भने सकेनन्। एक खेलअघि नै फाइनल पुगिसकेका एपीएफ र इस्ट बंगालका लागि आजको खेल फाइनलअघिको वार्मअप सरह थियो।
आइतबार राति भारतको इस्ट बंगालले बंगलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ७-० को फराकिलो अन्तरले पराजित गरेसँगै एपीएफ फाइनलमा पुगेको थियो। नसरिनलाई हराएपछि इस्ट बंगाल पनि अंक तालिकाको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो।
च्याम्पियनसिपमा अपराजित रहेको इस्ट बंगाल ३ खेलमा ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। दुई खेलमा जित र एक खेलमा बराबरी गरेको एपीएफले सात अंकसहित दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान पक्का गरेको हो।
आइतबार दिउँसो नै भएको पहिलो खेलमा पाकिस्तानको कराची सिटी एफसीलाई १-० ले हराएको थियो।
एपीएफले राउन्ड रोबिनको पहिलो खेलमा नसरिनलाई ४-० को फराकिलो अन्तरले हराएको थियो। दोस्रो खेलमा भूटानको ट्रान्सपोर्टसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।
कराची, भूटानको ट्रान्सपोर्ट युनाइटेड र बंगलादेशको नसरिन स्पोर्टस् एकेडेमी समूह चरणबाटै बाहिरिएका छन्।
Shares

प्रतिक्रिया