नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली उम्मेदवारी दर्ताको अन्तिम समयसम्म पनि अध्यक्ष केपी शर्मा ओलीले आफूलाई महासचिव पदको उम्मेदवार बनाउने ठुलो आशामा थिए।
तर उम्मेदवारी दर्ता गराउने दिन सोमबार ओलीले उनलाई उपाध्यक्षको सूचीमा राखिदिए।
त्यसपछि उनी आक्रोशित र बडो दु:खी हुँदै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएर महाधिवेशन स्थल भृकुटीमण्डपबाट फर्किए।
यस्तो देखेपछि धेरैले ज्ञवाली अब ओलीबाट टाढिने अनुमान गरिरहेका थिए।
तर मंगलबार बिहानै उनले सामाजिक सञ्जालमार्फत केपी शर्मा ओलीका लागि मत माग्दै सधैँ उनकै साथमा रहने अभिव्यक्ति सार्वजनिक गरे।
‘आज महाधिवेशनको सर्वाधिक महत्त्वपूर्ण र निर्णायक क्षण अर्थात् नयाँ नेतृत्वका लागि मतदान हुँदै छ’, ज्ञवालीले लेखेका छन्, ‘नेकपा एमालेको आन्तरिक जीवनका लागि मात्र होइन, चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि पनि दूरगामी अर्थ राख्ने यस महाधिवेशनबाट कमरेड केपी शर्मा ओलीले अगुवाइ गर्नु भएको सिंगो टिमलाई सानदार मतका साथ विजयी बनाउनु हुन सबै कमरेडहरूमा हार्दिक अपिल गर्दछु। म हमेसा तपाईँहरूक बिचमा छु, त्यहीँ रहन्छु।’
तर अर्कातर्फ ओली टिमबाट फेरि पनि सम्भवत: भनेकै पद उपाध्यक्षको उम्मेदवार बन्न पाएका विष्णु पौडेलले आफूलाई मात्र मत मागेका छन् अर्थात् ओलीका लागि मागेका छैनन्।
बरु उनले अध्यक्ष ओलीको कार्यशैलीप्रति अप्रत्यक्ष रूपमा असन्तुष्टिसमेत व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘प्रिय प्रतिनिधि कमरेडहरू, हार्दिक अभिवादन! हामी यतिबेला हाम्रो पार्टी नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व छनोटको महत्त्वपूर्ण क्षणमा आइपुगेका छौँ। पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन हाम्रा नीति र कार्यक्रमहरूलाई बलियो, सशक्त, अनुशासित र गतिशील संगठनमार्फत जनतासँग जोडिन नेतृत्वले प्रभावकारी र सन्तुलित भूमिका निर्वाह गर्नुपर्दछ। मैले उपाध्यक्ष पदमा उम्मेदवारी मनोनयन गरेको यहाँहरूलाई अवगत नै छ। प्रिय प्रतिनिधि कमरेडहरूबाट अमूल्य मतको अपेक्षा गर्दछु।’


एमालेको निर्वाचन आयोगले मंगलबार बिहान उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।
निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका लागि गरी ३५१ पदका लागि मतदान हुँदै छ।
केन्द्रीय कमिटीका १९ पदाधिकारीमध्ये अध्यक्षमा २, उपाध्यक्षमा ११, महासचिवमा २, उपमहासचिवमा ६ र सचिवमा २० जना प्रतिस्पर्धा गर्दै छन्।
ती सबै पदका लागि आज ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुँदै छ। अहिले त्यसका लागि प्राविधिक तयारी भइरहेको छ।
Shares

प्रतिक्रिया