राजनीति


‘बटम-अप’ शैलीमा एमाले-नेकपा कार्यगत एकताको गृहकार्य, गठबन्धनको जिम्मा स्थानीय कमिटीलाई

‘बटम-अप’ शैलीमा एमाले-नेकपा कार्यगत एकताको गृहकार्य, गठबन्धनको जिम्मा स्थानीय कमिटीलाई

सागर न्यौपाने
असार १७, २०८३ बुधबार २१:३०, काठमाडौँ

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले कार्यगत एकता गर्ने तयारी गरेका छन्। ८ वर्षअघि केपी शर्मा ओली र प्रचण्डले शीर्ष तहबाट गरेको एकता टिकाउ हुन नसकेपछि यस पटक वडा तह र स्थानीय आवश्यकताका आधारमा ‘बटम अप’ शैलीमा कार्यगत एकताको जग बसाल्ने कसरत भइरहेको हो। 

फागुन २१ को प्रतिनिधि सभाको चुनावमा नराम्ररी धक्का खाएपछि एमाले र नेकपाले कार्यगत एकताको तयारी थालेका हुन्। 

विगतमा केन्द्रीय तहमा नेकपाको संरचना बनाएर तल संगठन बिस्तार गर्न खोज्दा असफल भएपछि यसपटक वडा र स्थानीय तहमा चुनावी सहकार्य गर्ने, समायोजन समिति बनाउने र तलको सम्बन्ध सुमधुर भएपछि मात्रै एकतासम्म पुग्ने उनीहरूको प्रयास देखिन्छ।

त्यसकै लागि पछिल्ला दिन एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच बाक्लो संवाद भइरहेको छ। उनीहरूले दुई पार्टीबीच सम्भावित सहकार्यको मोडालिटी तयार पार्न आ–आफ्ना विश्वासपात्र दोस्रो तहका नेतालाई खटाएका छन्। 

एमालेका एक नेताका अनुसार यसपटक दुई दलबीच वडा तहबाटै कार्यगत एकता हुँदै पालिका, जिल्ला, प्रदेश र केन्द्र पुग्ने तयारी भइरहेको छ। 

स्थानीय कमिटीलाई गठबन्धन, सहकार्य र कार्यगत एकताको अधिकार दिन संवाद गर्दै जाने निचोडमा दुवै दल पुगेको संवादमा रहेका नेताहरूको भनाइ छ।

‘तल्लो तहदेखि परिपक्व नभई एकता गर्दा न आफ्नो अस्तित्व रहन्छ, न त्यो एकताले दिनुपर्ने ऊर्जा रहन्छ। ठूलो क्षति र थप निराशा मात्र सिर्जना गर्छ,’ संवादमा रहेका एक नेताले भने, ‘तलको स्थानीय आवश्यकता र मनोविज्ञान नमिलाई माथिबाट गरिएको घोषणा प्रत्युत्पादक हुन सक्ने भएकाले स्थानीय कमिटीलाई नै गठबन्धन र सहकार्यको अधिकार दिनेगरी छलफल अगाडि बढेको हो।

ओलीका सचिवालय हेर्ने जिम्मेवारी पाएकी एमालेकी केन्द्रीय सदस्य निरुदेवी पालले दुई नेताबीच फोनमा संवाद भइरहेको बताइन्। लोकतन्त्र जोगाउन सबै पक्षसँग कार्यगत एकता गर्ने भनिएको उनी बताउँछिन्।

‘नेकपासँग छुट्टै केही गर्ने भनेर निर्णय भइसकेको छैन,’ उनले भनिन्, ‘अध्यक्ष ओली र प्रचण्डबीच फोनमा संवाद भइरहेको छ।’

नेकपाका नेता माधव सापकोटाले पनि कार्यगत एकताको प्रस्थानविन्दु स्थानीय तह र वडा तह नै हुने मोडालिटीमा छलफल चलिरहेको बताए। कम्युनिस्ट आन्दोलन रक्षाका लागि वाम शक्तिहरू मिल्नुको विकल्प नभएको निचोडमा दुवै दलका शीर्ष नेता पुगेको उनको भनाइ छ।

‘कार्यगत एकता गर्दा स्थानीय तह, वडा तहसम्म समायोजन समिति बनाएर जाने। विभिन्न मोडालिटीमा छलफल चलिरहेको छ,’ उनले भने, ‘स्थानीय तहको चुनावमा दुई दलको गठबन्धन बन्छ।’ 

विगतमा शीर्ष नेताले सिधै एकता गर्दा समस्या झेल्नुपरेकाले यसपटक रणनीति बदलिएको नेकपाका अर्का नेता बताउँछन्।

‘विगतमा माथिबाट निर्णय गर्दा त्यो टिकाउ भएन र दुःख पाइयो, त्यही भएर यसपटक स्टेप–स्टेप गर्द तलैदेखि गठबन्धन बनाएर चुनावमा भाग लिने, त्यसपछि अर्काे प्रक्रियामा अघि बढ्ने भन्ने छ,’ उनले भने। 

ती नेताका अनुसार एकतामा पुग्नको लागि केही विषयमा मतैक्य हुन बाँकी छ।  

‘नेतृत्व प्रणालीकै विषयमा टुङ्गोमा नपुगी एकतामा प्रवेश गर्नुहुँदैन भन्नेमा हामी विश्वस्त छौँ,’ उनले थपे।

संवादमा रहेका एमालेका नेता प्रदीप ज्ञवालीले सहकार्यका मापदण्ड, आचारसंहिताका विषयमा छलफल हुँदै जानसक्ने बताए।

‘तर, हौसिएर वामपन्थीहरू एकैठाउँमा भइहाल्ने कुराले गैरवामपन्थीलाई तरङ्गित गर्छ। त्यसैले विपक्षीलाई झन् बढी सशंकित बनाउनेगरी जानु उचित हुँदैन,’ उनले भने।

फागुन २१ गतेको चुनावमा व्यहोरेको पराजयका कारण दलहरू समस्याको रहेकोले यसको समाधान नगरी एकताको विषयमा प्रवेश गर्न नहुने ज्ञवालीको भनाइ छ।

‘हरेक दलभित्र समस्या पैदा भएको छ। किन ठूलो घटना घट्यो? किन यति ठूलो धक्का खाइयो? यसबाट कसरी अगाडि बढ्ने भनेर छुट्टाछुट्टै पार्टीले आफूलाई व्यवस्थित गर्नुप‍र्‍यो,’ उनले थपे, ‘त्यो नभई गरिएको एकताले यताको समस्या उता ट्रान्सफर गर्ने काम हुन्छ, देश र जनताको निम्ति त्यसले केही परिणाम दिँदैन।’

२०७५ जेठ ३ गते एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता २०७७ फागुनमा टुटेको थियो। यसबारे गम्भीर समीक्षा हुनुपर्ने उनको भनाइ छ। 

‘हिजोको एकता किन टुट्यो, त्यसका सैद्धान्तिक र राजनीतिक कारण के थिए? नेताहरूको इगोको कारण हो कि अथवा बाह्य चलखेलहरू हुन् कि? त्यसको जवाफ नदिइकन हिजो विभाजित हुन पनि ठीक, अहिले सहकार्य गर्नु पनि ठीक भन्ने कुराले त मान्छेलाई आश्वस्त तुल्याउन सक्दैन,’ ज्ञवाली भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad