पेट्रोलियम पदार्थको मूल्य घटेकाले सार्वजनिक यातायात र हवाई उडानको भाडा घटाउन संसद्मा आवाज उठेको छ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले गाडी भाडा घटाउन माग गरेका हुन्। सांसद रोकायले सार्वजनिक यातायात र हवाई उडानको समेत मूल्य समायोजन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
पेट्रोलियम पदार्थको मूल्य घटेकाले सरकारले सार्वजनिक यातायात र हवाई उडानको समेत भाडा घटाउनुपर्ने उनको भनाइ थियो। ‘पेट्रोलियम पदार्थको मूल्य घटिसकेको अवस्थामा सार्वजनिक यातायातको भाडा र हवाई उडानको भाडा अविलम्ब पुनरावलोकन गर्न समेत माग गर्दछु,’ उनले भने।
सांसद रोकायाले जनताले पेट्रोलियम पदार्थको मूल्य बढदा भार खेप्नुपर्ने तर घटदा राहत नपाउने अन्यायपूर्ण अवस्थाको तत्काल सरकारले अन्त्य गर्नुपर्ने बताए।
त्यस्तै, उनले पेट्रोलियम पदार्थको कृत्रिम अभाव खडा गर्ने पेट्रोल पम्पलाई कडा कारबाही गर्न सरकारसँग माग गरे। शून्य समयमा बोल्दै रोकायले पेट्रोलियम पदार्थको मूल्य घट्ने बित्तिकै देशका विभिन्न भागमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव खडा गरिएकाले त्यस्ता पेट्रोल पम्पमाथि तत्काल कारबाही गर्न सरकारलाई सचेत गराए।
‘नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामा नै देशका धेरै स्थानमा पेट्रोल छैन। डिजेल छैन भन्दै केही पेट्रोल पम्पहरूबाट विक्री वितरण बन्द भएको सूचना छ,’ उनले भने, ‘म प्रश्न गर्न चाहन्छु- मूल्य बढदा भार बोक्ने जनताले मूल्य घटदा राहत दिन नपाउने? यसरी कृतिम अभाव सृजना गर्नेहरुमाथि सरकारले तत्काल छानविन गरी कानून बमोजिम कडा कारबाही गरोस।’
Shares

प्रतिक्रिया