नेकपा (एमाले)ले शनिबार बाट सुरु हुने ११औं महाधिवेशन भव्य र व्यवस्थित बनाउन बृहत् तयारी गरेको छ। महाधिवेशन व्यवस्थापनका लागि १० हजार स्वयंसेवक परिचालन हुने भएका छन्। तीमध्ये ५ सय भन्दा बढी स्वयंसेवकहरू विशेष 'ड्रेस कोड'मा हुनेछन्।
'ड्रेस कोड' पालना गर्नुपर्ने ती पाँच सय जना स्वयंसेवक को हुन्, तिनले विशेष के काम गर्नेछन् भनेर खुलाइएको छैन।
शुक्रबार भक्तपुरको सल्लाघारीमा आयोजित पत्रकार सम्मेलनमा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयोजक भानुभक्त ढकाल ले यो जानकारी दिएका हुन्। उनकाअनुसारमहाधिवेशन जनसभालाई मर्यादित र प्रभावकारी बनाउनका लागि १० हजार स्वयंसेवक परिचालन गरिनेछ।
व्यवस्थापनको विशेष संरचना
एमालेले स्वयंसेवक परिचालनका लागि विशेष नेतृत्व कमाण्डको व्यवस्था मिलाएको छ। ढकालले भने, 'हाम्रा जनसंगठनहरूलाई प्रतिनिधित्व गराएर पाँच सयभन्दा बढी स्वयंसेवकहरूलाई निश्चित 'ड्रेस कोड'मा राख्ने गरी समन्वय गरेका छौँ। १० जना स्वयंसेवक बराबर एक कमान्डर र प्रत्येक संगठनको एक कमान्डर रहने गरी संरचना निर्माण गरिएको छ।'
शनिबारको कार्यक्रम व्यवस्थापन टोलीमा उपत्यकाका तीनै जिल्ला कमिटी, उपत्यका विशेष, सम्पर्क समन्वय कमिटी, र भक्तपुर जिल्ला कमिटीका सदस्यहरूलाई समावेश गरिएको छ। महाधिवेशनमा अनेरास्ववियु, युवा संघ, जिफन्टलगायत पार्टीका विभिन्न जनसंगठनका प्रतिनिधिहरूलाई पहिचानसहित स्वयंसेवकको रूपमा परिचालन गरिनेछ।
एमालेले आफ्नो ११औं महाधिवेशनलाई अहिलेसम्मकै व्यवस्थित र मर्यादित बनाउने दाबी गरेको छ।
Shares

प्रतिक्रिया