राजनीति


सरकार-जेनजी सहमतिविरुद्ध मिराज र जितेन्द्रको संयुक्त विज्ञप्ति : आन्दोलन तुहाउने षड्यन्त्र, स्वीकार्य छैन

सरकार-जेनजी सहमतिविरुद्ध मिराज र जितेन्द्रको संयुक्त विज्ञप्ति : आन्दोलन तुहाउने षड्यन्त्र, स्वीकार्य छैन

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १४:३४, काठमाडौँ

सरकार र जेनजी प्रतिनिधिबीच बुधबार (मंसिर २४) साँझ भएको सहमतिप्रति जेनजी अभियन्ताहरू मिराज ढुंगाना र जितेन्द्रकुमार महतोले विरोध जनाएका छन्। 

उनीहरूले बुधबारै बेलुका संयुक्त विज्ञप्ति जारी गरी सरकार र केही जेनजी समूहबीच भएको सम्झौता जेनजी जनआन्दोलनले उठाएका वास्तविक मर्म र भावनाको प्रतिनिधित्व नगर्ने भन्दै असन्तुष्टि जनाएका हुन्। 

‘मिति २०८२ साल मङ्सिर २४ गते नेपाल सरकार र केही जेनजी समूहद्वारा गरिएको सम्झौतापत्रमा जेनजी जनआन्दोलनले उठाएका वास्तविक मर्म, भावना र निर्णायक निष्कर्षहरू समुचित रूपमा प्रतिनिधित्व भएको देखिँदैन। उक्त सम्झौतापत्रमा आन्दोलनका केही मागहरू सम्बोधन भए तापनि प्रमुख मागहरू स्पष्ट, ठोस र कार्यान्वयनयोग्य रूपमा समेटिएका छैनन् र चुनावअघि तिनलाई लागु गरिने कुनै सुनिश्चितता नदिइएकाले यो सम्झौता हाम्रोतर्फबाट स्वीकार्य छैन’, विज्ञप्तिमा उनीहरूले भनेका छन्। 

देशको स्थायित्व, सुशासन र परिवर्तनको मूलभुत आवाजलाई बेवास्ता गर्दै, व्यापक सर्वपक्षीय जनआवाजलाई बेवास्ता गरिएको आरोप लगाउँदै उनीहरूले ‘केही स्वार्थ समूहसँग गरिएको राजनीतिक सम्झौता’ स्वीकार नभएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा अगाडि भनेका छन्, ‘त्यसैले सबैको आवाज सुनेर, समग्र जेनजी जनआन्दोलनका मूल मुद्दा समेटेर, देशको स्थिरता र न्यायसंगत मूल्यांकन सुनिश्चित हुनेगरी मात्र कुनै पनि सम्झौता अघि बढाउनुपर्छ। अन्यथा सर्वपक्षीय सहमतिबिना निर्णय लिँदा पुनः वातावरण अस्थिर अविश्वसनीय बन्न सक्ने र भविष्यमा कोही पक्षलाई कुनै नैतिक दबाब वा यस सम्झौतालाई संवैधानिक आधार दिने कुनै पनि वातावरण देख्न नसकिने स्पष्ट रहेको हुँदा यो सम्झौता आन्दोलन तुहाउने षड्यन्त्र र भ्रमपूर्ण रहेकोमा हामी विश्वस्त छौँ।’

यस्तो छ विज्ञप्तिको पूरा पाठ

प्रेस विज्ञप्ति
मिति २०८२ साल मङ्सिर २४ गते नेपाल सरकार र केही जेनजी समूहद्वारा गरिएको सम्झौतापत्रमा जेनजी जनआन्दोलनले उठाएका वास्तविक मर्म, भावना र निर्णायक निष्कर्षहरू समुचित रूपमा प्रतिनिधित्व भएको देखिँदैन। उक्त सम्झौतापत्रमा आन्दोलनका केही मागहरू सम्बोधन भए तापनि प्रमुख मागहरू स्पष्ट, ठोस र कार्यान्वयनयोग्य रूपमा समेटिएका छैनन् र चुनावअघि तिनलाई लागु गरिने कुनै सुनिश्चितता नदिइएकाले यो सम्झौता हाम्रोतर्फबाट स्वीकार्य छैन।

देशको स्थायित्व, सुशासन र परिवर्तनको मूलभुत आवाजलाई बेवास्ता गर्दै, व्यापक सर्वपक्षीय जनआवाजलाई बेवास्ता गर्दै केही स्वार्थ समूहसँग गरिएको राजनीतिक सम्झौताले भविष्यमा अझ गम्भीर अविश्वास र अस्थिरता निम्त्याउन सक्छ। जनताको भावना, बलिदान र परिवर्तन चाहने मनोभावनालाई नजरअन्दाज गरी गरिएको कुनै पनि सम्झौता हामी स्वीकार गर्न सक्दैनौँ। 

त्यसैले सबैको आवाज सुनेर, समग्र जेनजी जनआन्दोलनका मूल मुद्दा समेटेर, देशको स्थिरता र न्यायसंगत मूल्यांकन सुनिश्चित हुनेगरी मात्र कुनै पनि सम्झौता अघि बढाउनुपर्छ। अन्यथा सर्वपक्षीय सहमतिबिना निर्णय लिँदा पुनः वातावरण अस्थिर अविश्वसनीय बन्न सक्ने र भविष्यमा कोही पक्षलाई कुनै नैतिक दबाब वा यस सम्झौतालाई संवैधानिक आधार दिने कुनै पनि वातावरण देख्न नसकिने स्पष्ट रहेको हुँदा यो सम्झौता आन्दोलन तुहाउने षड्यन्त्र र भ्रमपूर्ण रहेकोमा हामी विश्वस्त छौँ। 

उपरोक्त कारणहरूका आधारमा प्रस्तुत सम्झौताप्रति हामी समर्थन जनाउन असमर्थ छौँ र स्पष्ट रूपमा यसको घोर विरोध गर्दछौँ।
मिति : २०८२.०८.२४ गते बुधबार।
मिराज ढुंगाना जेनजी अभियन्ता
जितेन्द्रकुमार महतो
जेनजी केन्द्रीय सहसंयोजक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad