कोशी


‘उल्टो रुख र जलपरी’ देखिने पर्यटकीय बिस हजार ताल, हेर्नुहोस् २० तस्बिर

‘उल्टो रुख र जलपरी’ देखिने पर्यटकीय बिस हजार ताल, हेर्नुहोस् २० तस्बिर

सुमन सुस्केरा
मंसिर २७, २०८२ शनिबार ७:२५, विराटनगर

चितवन जिल्लामा अवस्थित अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्र बिस हजार ताल संरक्षण सङ्कटमा परेको विशेषज्ञहरू चेतावनी दिन्छन्। १३ अगस्ट २००३ मा रामसार सूचीमा सूचीकृत यो सिमसार क्षेत्र भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा फैलिएको छ।

करिब ३२०० हेक्टर क्षेत्रमा फैलिएको यस संरक्षित क्षेत्रमध्ये १०० हेक्टर भाग तालले ढाकेको छ। समुद्री सतहबाट करिब २८६ मिटर उचाइमा रहेको बिस हजार ताल भित्री मधेसको महत्त्वपूर्ण जल संरक्षण स्थलको रूपमा लिइन्छ।

वर्षातको पानी र खगेरी नहर नै तालको प्रमुख जलस्रोत हुन्। औसत १८२ मिलिमिटर वार्षिक वर्षा हुने यो क्षेत्रले वर्षौँदेखि जल सन्तुलन कायम राख्दै आएको छ। जैविक विविधताको हिसाबले बिस हजार ताल नेपालको सबैभन्दा धनी सिमसारमध्ये एक मानिन्छ। 

बिस हजार ताल संरक्षण तथा विकास बोर्डका अनुसार, यहाँ १५४ प्रजातिका वनस्पति दर्ता भएको छ, जसमा ४७ प्रजातिका रूख, ४४ बुट्यान, ५४ घाँस तथा ५ मिचाहा प्रजाति रहेका छन्।

वन्यजन्तुको उपस्थितिमा पनि यो क्षेत्र अत्यन्त समृद्ध छ। यहाँ ३७ प्रजातिका किरा फट्याङ्ग्रा, २५ प्रजातिका माछा, ३० प्रजातिका उभयचर, सरिसृप, ३३ प्रजातिका स्तनधारी र २७३ प्रजातिका चराहरू पाइने रहेका मध्ये ६० प्रजाति सिमसार आश्रित, १४ विश्वमै दुर्लभ र २३ राष्ट्रिय रूपमा दुर्लभ चरा प्रजाति रहेको चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ। 

विशेष गरी पाटे बाघ, एकसिंगे गैँडा, जङ्गली हात्ती, मगर गोही, अजिङ्गर, सुन गोहोरो लगायतका दुर्लभ जनावर बिस हजार ताल क्षेत्र आसपासमा भेटिनुले यसको महत्त्व झनै बढाएको छ। यस्तै, भुडीफोर, गरुड, जीवाहार महाचील, उत्क्रोशी फ्यालफ्याले, मालक हाँस, बोक्सी चील जस्ता महत्त्वपूर्ण चरा प्रजातिहरू हेर्नका लागि यहाँ हरेक दिन पर्यटकहरू पुग्ने गरेका छन्। 

नेपाली सेनाको तथ्याङ्क अनुसार दैनिक ३ देखि ५ सय पर्यटक ताल अवलोकनका लागि पुग्ने गरेका छन्। यहाँको पर्यटकको तथ्याङ्क राख्ने काम नेपाली सेनाले गर्दै आएको छ। 

पर्यटकीय क्षेत्र बिस हजार ताल पछिल्लो समय जलकुम्भी तथा विभिन्न मिचाहा प्रजातिका कारण सङ्कटमा परेको भन्न थालिएको छ। संरक्षणकर्मीहरू ताल संरक्षणको लागि चुनौती बढ्दै गएको बताउँछन्। 

मिचाहा प्रजातिको तीव्र विस्तार, तालमा पानीको मात्रा घट्दै जानु, कमजोर माटोका बाँधहरू भत्किनु, पाँगो माटोको थुप्रोका कारण ताल पुरिन थाल्नु र बस्ती तथा खेतीबाट मिसिने रासायनिक पदार्थको प्रदूषणले जलचर तथा सिमसार क्षेत्रको विकासमा गम्भीर असर पर्दै गएको छ।  

नजिकैका गाउँ बस्तीले वन क्षेत्रमा निरन्तर अतिक्रमण गर्दै बस्ती विस्तार गरिरहनुले पनि सिमसारको अवस्थामाथि प्रत्यक्ष प्रभाव परेको निकुञ्ज प्रशासनको भनाई छ। 

स्थानीय बासिन्दाको घाँस–दाउरा सङ्कलन, गाई वस्तु चरिचरण, माछा मार्ने तथा प्रकृति पर्यटनजस्ता क्रियाकलापले मानव उपस्थितिलाई बढाउँदा व्यवस्थापन झनै चुनौतीपूर्ण बन्दै गएको छ। यद्यपि, मध्यवर्ती सामुदायिक वन र चितवन राष्ट्रिय निकुञ्जले संरक्षणका लागि समन्वयमा काम गर्दै आएको बताइन्छ। बिस हजार ताल अवलोकनका लागि जाने जो कोहीले पाटे बाघ समेत हेर्न पाउँछन्। 

चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्र संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार, बिस हजारी ताल सरकारी वन क्षेत्रमा पर्दछ र यसको समग्र संरक्षणको जिम्मेवारी चितवन राष्ट्रिय निकुञ्जकै हो।

तर ताल क्षेत्रको दैनिक व्यवस्थापन भने बिस हजार ताल संरक्षण तथा विकास बोर्डले गर्ने प्रावधान छ। उक्त बोर्डमा सामुदायिक वनका प्रतिनिधि, उपभोक्ता समिति, निकुञ्जका वार्डेन, नहर समितिका सदस्य तथा स्थानीय तहका प्रतिनिधिहरू सहने व्यवस्था रहेको उनले बताए। 

ताल परिसरमा आन्तरिक तथा बाह्य पर्यटक आउने भएकाले मानवीय गतिविधिका कारण हल्का तर स्थायी समस्याको रूपमा रहेको उनको भनाइ छ।

‘हिँडडुल, बोलचाल, फोटो खिच्ने गतिविधिले केही न केही अवश्य असर गर्छ। तर ठूलो क्षतिको रूप भने छैन,’ संरक्षण अधिकृत मगरले भने। उनका अनुसार ताल क्षेत्रमा ध्वनि प्रदूषण, आवतजावत र मानवीय उपस्थिति नै मुख्य चुनौतीका रूपमा देखिन्छ, यद्यपि लाउड स्पिकर, नाचगान जस्ता क्रियाकलाप प्रतिबन्धित छन्।

निकुञ्ज, सामुदायिक वन र बोर्डको संयुक्त समन्वयमा ताल संरक्षण भइरहेको अधिकृत मगरले बताए। ताल संरक्षणको लागि अहिले पनि सरसफाइका कामहरू भइरहेका छन्। ‘बोर्डलाई सोध्नु भनेको निकुञ्जलाई नै सोध्नुजस्तै हो। हामी समग्र संरक्षण हेर्छौँ, उनीहरूले दैनिक व्यवस्थापन गर्छन्, उनले भने।

हेर्नुहोस थप तस्बिर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad