नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सर्लाहीबाट २२ जना प्रतिनिधि चयन हुँदा ईश्वर पोखरेल पक्षमा खुलेका दुई जना मात्रै परेका छन्।
लामो रस्साकस्सीपछि एमाले सर्लाहीले आइतबार साँझ सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको हो।
छनोट भएका प्रतिनिधि अधिकांश केपी ओली पक्षका छन्। एमाले सर्लाहीका एक नेताले दिएको जानकारी अनुसार एमाले सर्लाहीका पूर्वअध्यक्ष रेवती पन्त र नेता प्रकाश थापा मात्रै ओली इतर समूहबाट महाधिवेशन प्रतिनिधि बनेका हुन्।
‘सबैको मनमा त पस्न सकिँदैन, तर बाहिरबाट हेर्दा पन्त र थापाबाहेक छनोट हुने बाँकी २० जना प्रतिनिधि ओली पक्षका हुन् भन्ने बुझाइ यहाँ छ,’ ती नेताले भने, ‘प्रतिनिधि छनोट गर्दा नै अध्यक्ष ओलीप्रति आलोचनात्मक चेत राख्नेहरुलाई नियोजित रुपमा बाइपास गरिएको छ।’
तत्कालीन नेकपा विभाज हुँदा माधव नेपाललाई साथ दिएका सर्लाहीका स्थापित धेरै नेतालाई प्रतिनिधि बन्नबाट बञ्चित गरिएको छ।
मधेस प्रदेशका पूर्व सांसद एवं एमालेका पुराना नेता डिल्लीप्रसाद उप्रेती, नेता चुडामणि वाग्ले, संयमबाबु पठानलगायतका नेता महाधिवेशन प्रतिनिधि बन्नबाट बञ्चित भएका छन्।
एमाले सर्लाहीले सार्वजनिक गरेको नामावली अनुसार मनोजकुमार देवकोटा, प्रकाश थापा, माधव सरकार, राजनारायण साह, जयप्रकाश यादव, विदुरकुमार प्याकुरेल, गणेशप्रसाद प्रसाइँ, रेवती पन्त, माधवप्रसाद कोइराला र जयलाल सहनी खुला तर्फबाट प्रतिनिधि छानिएका छन्।
त्यसैगरि महिलाबाट एकावतीदेवी चौधरी, शान्तिकुमारी लामा, राधिका खतिवडा, रेणु पासवान, सरिता घिसिङ, शारदाकुमारी उप्रेती र लालबतीदेवी राय चयन भएका छन्।
त्यसैगरि युवाबाट उज्वलकुमार कार्की, रौनित साह, मोहबहादुर रेग्मी र रविशंकर सिंह कुशवाहा चयन हुँदा दलितबाट रामचन्द्र चमार प्रतिनिधि छानिएका छन्।
एमालेले सर्लाहीमा महाधिवेशन प्रनिनिधि छान्ने जिम्मा पाँचजना नेतालाई सुम्पिएको छ।
सबै आकांक्षीले निर्वाचन नगर्ने, बरु जिल्लाको ‘हाइ कमाण्ड’ले नामावली तयार पारेर घोषणा गरे त्यसलाई आफूहरूले पनि मान्ने भनेर लेखेर दिएपछि पाँचजना नेताले प्रतिनिधिको नामावली तयार गरेका हुन्।
एमाले सर्लाहीका इन्चार्ज एवं केन्द्रीय सदस्य हरिप्रसाद उप्रेती, केन्द्रीय सदस्यहरू कमलादेवी महतो, रन्जना सरकार र कल्पनाकुमारी कटुवाल तथा जिल्ला अध्यक्ष राजनारायण साहले प्रतिनिधि छान्ने जिम्मा पाएका थिए।


Shares

प्रतिक्रिया