राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमराको शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ। बुधबार जेनजी प्रदर्शनकारीमाथि कुटपिट भएपछि सिमरा तनावग्रस्त छ। स्थानीय जेनजीले आज पनि प्रदर्शन जारी राखेका छन्।
यिनै घटनाबारे जानकारी गराउँदै आयोगले स्थिति सामान्य बनाउने कार्यमा लाग्न सरकारलाई आग्रह गरेको हो।
‘शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’ अयाोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै संयमताका साथ स्थितिलाई सामान्यीकरण गर्ने गराउने कार्यमा सहयोग गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ।’
मानव अधिकार आयोगले उक्त घटनाको अनुगमन गरिरहेको पनि प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आयोगका अनुसार बुधबार उत्पन्न विवादपछि आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढी विमानस्थल अगाडि झडप हुँदा एयरपोर्टको गेटमा समेत क्षति भएको, उडानहरु प्रभावति भएको, उडान प्रभावित हुँदा एमालेका नेताहरू सिमरा जान नसकेका र त्यसपछि स्थानीय प्रशासनले सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको पाइएको छ।
झडपमा ५ जना घाइते भएको पनि आयोगले उल्लेख गरेको छ। ‘घाइतेहरूको नगर अस्पतालमा उपचार भएको र घाइते युवाहरूले आफूमाथि आक्रमण गर्ने व्यक्तिविरुद्ध स्थानीय प्रहरी कार्यालयमा जाहेरी दिएको भन्ने प्रारम्भिक जानकारी आयोगलाई प्राप्त भएको छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ।
देशमा विकसित राजनीतिक परिस्थिति र आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा समेत भइसकेको अवस्थामा यस्ता घटना हुनुले निर्वाचनको सहज वातावरण बन्न नसक्ने र शान्ति सुरक्षामा समेत गम्भीर असर पर्नेतर्फ नेपाल सरकार र सम्बन्धित सबै पक्ष गम्भीर हुन आयोगले ध्यानाकर्षण गराएको छ।
Shares

प्रतिक्रिया