राजनीति


आउँदो निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुने निर्वाचन आयोगको विश्वास

आउँदो निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुने निर्वाचन आयोगको विश्वास

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १७:३०, काठमाडौँ

निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका पूर्वतयारीका विषयमा संघीय संसद, प्रदेश सभा तथा स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग बिहीबार छलफल गरेको छ।

आयोगमा आयोजित छलफलमा माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तयार पारिएको प्रस्तावित निर्वाचन कार्यक्रम तथा मतदाता नामावली अद्यावधिक कार्यक्रमबारे आयोगले जानकारी गराएको थियो।

राजनीतिक दलहरूको तर्फबाट निर्वाचनका लागि भरपर्दो सुरक्षा प्रबन्ध, अनुकूल वातावरण, मितव्ययी निर्वाचन सञ्चालन तथा आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न सुझावहरू प्रस्तुत गरिएको थियो।

राजनीतिक दलहरूले उठाएका सुझावहरूको सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न निर्वाचनहरू स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाधरूपमा मतदातासम्म पुग्ने र मतदाताले निर्भयपूर्वक मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताए।

भण्डारीले आयोगले तयार पारेको निर्वाचन आचारसंहिताको मस्यौदा आयोगको वेबसाइटमा राखिएको र सबै राजनीतिक दलहरूलाई इमेलमार्फत पठाइएको जानकारी दिँदै, आवश्यक सुझावहरू यथाशीघ्र उपलब्ध गराउन आग्रह गरे।

कार्यक्रममा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा, सचिव महादेव पन्थ तथा अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad