नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपा)का संरक्षक रेशमलाल चौधरीले टिकापुर आन्दोलनलाई राज्यले अन्यायपूर्ण रूपमा अपराधको रूपमा व्याख्या गरेको आरोप लगाएका छन्।
बुधबार निर्वाचन आयोगले नाउपालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राज्यले अन्य आन्दोलनलाई राजनीतिक रूपमा सम्बोधन गरे पनि टिकापुर विद्रोहलाई मात्र अपराधिक ठहर गरेको बताए।
उनले भने, ‘देशका हरेक आन्दोलनलाई राजनीतिक रूपमा हेरियो, तर टीकापुर विद्रोहलाई अपराधको रूपमा लिइयो। यही नै राज्यको निरकुंशताको प्रतीक हो।’ चौधरीले नेपालमा विद्यमान विभेद, अन्याय र राज्यको निरकुंश व्यवहारविरुद्ध आफूहरू लड्ने बताए।
उनले टिकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा मान्यता दिन र त्यसमा संलग्न कैदी तथा फरार अभियुक्तहरूको मुद्दा फिर्ता गर्न माग गरे । चौधरीका अनुसार हाल पनि सो घटनासम्बन्धी करिब ३० जना फरार सूचीमा छन् भने ३ सयभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर छ।
राज्यले टीकापुर घटनामा संलग्नहरूमाथि गरेको अन्याय र दमनको माफी माग्नुपर्ने उनको भनाइ छ। ‘राज्यले टिकापुर विद्रोहलाई संस्थागत राजनीतिक रूप दिनुपर्छ र सम्पूर्ण राजबन्दीलाई तत्काल रिहा गर्नुपर्छ,’ उनले भने।
देशभरका उत्पीडित वर्गको आवाज बोक्ने पार्टीको उद्देश्य रहेको चौधरीले बताए। उनका अनुसार नाउपा, नेपालले आगामी निर्वाचनमा कमैया, दलित, मुक्तकमलरी, जनजाति, मुस्लिम, सुनार र एकल महिलाहरूलाई संसदमा पुर्याउने लक्ष्य लिएको छ।
समुदायमा आधारित समाजवाद पार्टीको मूल सिद्धान्त हुने उल्लेख गर्दै चौधरीले भने, ‘हामी केवल मधेसको मात्रै होइन, सम्पूर्ण उत्पीडित वर्गको आवाज उठाउँछौं। कर्णालीदेखि हिमालसम्मका जनताको पीडा हाम्रो एजेन्डा हो।’
Shares

प्रतिक्रिया