नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका जनार्दन शर्माले एकतावद्ध भएर अघि बढ्ने घोषणा गरेका छन्।
शुक्रबार संयुक्त विज्ञप्ति प्रकाशित गरी तीन नेताले यस्तो संकल्प गरेका हुन्।
आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको उनीहरूको ठहर छ।
‘राष्ट्रमाथि चौतर्फी सङ्कट आएको यस परिस्थितिमा सबै प्रतिवद्ध कम्युनिष्टहरू, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत् मोर्चावन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको छ’ तीन नेताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि वढ्न सङ्कल्पबद्ध भएका छौँ। र, सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुसँग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गर्दछौँ।’
उनीहरूले सत्तासिन नेताहरू गैरजिम्मेवार बन्दै र राजनीतिक दलहरूले खेल्नु पर्ने भूमिका कमजोर हुँदै जाँदा राज्य, राजनीति, राजनीतिक दल र तिनका नेताहरू जनताबाट टाढिँदै गएको बताएका छन्।
दलहरूमा भएका सुधारको प्रयास असफल हुँदा भदौ २३ को जेनजी आन्दोलन र २४ को विध्वंसलाई रोक्न नसकेको तीन नेताको ठहर छ।
‘दलहरूमा सुधारका प्रयासहरू असफल हुँदै गएका थिए, जसले गर्दा ती दलहरूले गत भदौ २३ गतेको जेन् जी आन्दोलन र २४ गते भएको विध्वंशलाई थेग्न सकेनन्’ विज्ञप्तिमा भनिएको छ,
‘त्यसपछि विकसित राजनीतिक घटनाक्रमले मुलुकलाई झन् झन् अन्योलग्रस्त बनाएका छन्।’
राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार एकसाथ खतरामा परेका तथा राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको उनीहरूले बताएका छन्।
मुलुकका पुराना राजनीतिक दलहरु, खासगरी तिनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहेको विप्लव, घनश्याम र जनार्दनको ठहर छ। त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित भएको उनीहरूले बताएका छन्। पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट भएको तीन नेताले निष्कर्ष निकालेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको छ। राष्ट्रमाथि चौतर्फी सङ्कट आएको यस परिस्थितिमा सबै प्रतिवद्ध कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरुले बृहत् मोर्चावन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको छ।’

Shares

प्रतिक्रिया