राजनीति


गृहमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

गृहमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १९:५६, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री अर्यालले पछिल्लो समय मुलुकको अवस्थामा दिनप्रतिदिन सुधार हुँदै आएको उल्लेख गरेका थिए। यसका लागि सबै पक्षसँग सहकार्य भएको तथा सर्वसाधारण र सुरक्षा संयन्त्रबीच विश्वासको वातावरण बनेको उनको भनाइ थियो ।

राजदूत थम्प्सनले पछिल्लो समय मुलुकमा उत्पन्न परिस्थितिपछि शान्ति कायम गर्न र सुरक्षा व्यवस्थापनका लागि गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए। 

राजदूत थम्प्सनले पछिल्लो समय एमसिसी परियोजनाका विरुद्धमा भइरहेको बयानबाजी र एमसिए नेपालले केही स्थानमा भोगिरहेको अप्ठ्याराका विषयमा चासो व्यक्त गरेका थिए। सो सम्बन्धमा मन्त्री अर्यालले वर्तमान सरकार अघिल्लो सरकार, संसद्ले गरेका प्रतिबद्धता पूरा गर्नका लागि तयार रहेको बताएका थिए। 

त्यस अवसरमा राजदूत थम्पसनले नेपालमा रहेका शरणार्थीसम्बन्धी चासो राखेको र मन्त्री अर्यालले नेपालले सबै प्रकारका मानवअधिकारको सम्मान गर्ने बताए। साथै गृहमन्त्रालयले निर्वाचन आयोगसँग सुरक्षाका विषयमा परामर्श गरिरहेको मन्त्री अर्यालको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad