राजनीति


कांग्रेस बैठकमा नेताहरूले भने: सरकार प्रतिशोधमा लाग्यो, संसद् विघटन संविधान विपरीत

कांग्रेस बैठकमा नेताहरूले भने: सरकार प्रतिशोधमा लाग्यो, संसद् विघटन संविधान विपरीत

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १७:५७, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय समितिको बिहीबार दिउँसो बसेको केन्द्रिय समितिको बैठकले पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आक्रमणमा भएको सांघातिक हमलाप्रति निन्दा गरेको छ। 

बैठकमा बोल्ने सदस्यहरूले महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राखेका प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

सरकार निर्वाचनलाई सहज बनाउने बाटोतिर नगएको, प्रतिशोध साँध्ने बाटोमा गएको धारणा राखेका थिए। आम नागरिकले पूर्ण रुपमा सुरक्षा महशुस गर्न नसकेको, सुरक्षा निकायको मनोबल उठ्न नसकेको नेताहरूको भनाई थियो। 

निर्वाचनमा कुनैपनि भय बिना भाग लिने वातावरण बनाउनुपर्ने धारणा सदस्यहरूले राखेको महतले बताए। साथै बैठकमा पुनः स्थापना बारेमा पनि केही सदस्यहरुले आफ्ना धारणा राखेका थिए। 

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान अवस्थाबारे बैठकमा जानकारी गराए। 

पार्टीले नियमित महाधिवेशन नै अघि बढाउने र विशेष महाधिवेशनको एजेण्डा केन्द्रीय समितिको बैठकमा नरहेको नेता महतले स्पष्ट पारे। उनले आम निर्वाचन र पार्टीको अधिवेशनबारे प्रश्न उठाएको जिकिर गरे। बैठकमा कार्यतालिका प्रश्ताव अहिलेसम्म नगरिएको पनि जानकारी दिए। 

बैठकपछि बोल्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको जरैदेखि छानबिन हुनुपर्ने धारणाहरू आएको बताए। साथै अबको दिनमा कांग्रेस कसरी अघि बढ्ने भन्नेबारेमा सुझावहररू आएको बताए।

नियमित अधिवेशन गर्न नसक्ने भए विशेष महाधिवेशन गर्नुपर्ने उनको भनाई थियो। नियमित अधिवेशन मंसिरभित्रै गर्नुपर्नेमा केसीले जोड दिए। जेनजीको पहिरनमा गरिएका कामहरु र व्यक्तिहरु पत्ता लगाउनुपर्ने बताए। सुरक्षाको प्रत्याभुति नभइ राजनीतिक दलहरु निर्वाचनमा जान नसक्ने उनले स्पष्ट पारे।

संसद पुनःस्थापनातिर लाग्न नहुने उनको भनाइ छ। हजार र पाँच सयको नोट प्रतिवन्ध गर्न माग समेत गरे। हरेक छानबिनका लागि कांग्रेस तयार रहेको पनि उनले बताए।

बैठकपछि बोल्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले कानुन हातमा लिएर सरकार चलाउने काममा केही व्यक्तिहरू लागेको बताए। उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको जिकीर गरे। 

समाजमा त्रास कायम रहेकाले त्यसलाई हटाउन आग्रह गरे। सरकार संविधान विपरित बनेको र त्यसबारे सोच्नुपर्ने धारणा नेताहरुले राखेको उनले बताए। उनले जेन जीका मागहरू सम्बोधन गरेर जान आवश्यक रहेको बताए। पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई आकर्षित गर्नेगरी अघि बढ्न आवश्यक रहेको उनको भनाई थियो।

केन्द्रीय सदस्य इन्द्रबहादुर बानियाँले जेनजी आन्दालेन, अप्राकृतिक विपत्ति, आगजनी, तोडफोडबारे मूल्यांकन लगायतबारे छलफल गर्नेबारे विषयहरु उठेको बताए। पार्टीका सभापति र नेताहरुमाथि भएको आक्रमणबारे पनि छलफल हुने बताए। 

साथै महाधिवेशनबारे पनि विषयहरू बैठकमा उठेको स्पष्ट पारे। समयमै महाधिवेशन गर्नुपर्ने बारेमा छलफल शुरु भएको उनले बताए। निर्वाचन हुने कुराको विश्वसनीय वातावरण बनेको खण्डमा कांग्रेस निर्वाचन सम्पन्न गरेर आन्तरिक काममा लाग्ने बताए। 

संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको बताउँदै कांग्रेस निर्वाचनबाट नभाग्ने दाबी गरे। 

एकतावद्ध भएर कार्यतालिका बनाइ कांग्रेस अघि बढ्ने बताए। सबैको भावना समेट्दै कांग्रेस अघि बढ्ने बताए। देशमा शान्ति सुरक्षा कमजोर रहेको, सुरक्षा निकायको मनोबल गिरेको अवस्था रहेको बताए। सरकारको प्राथमिकता निर्वाचन रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad