राजनीति


एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

फाइल तस्बिर


नेपालखबर
असोज २९, २०८२ बुधबार ६:४२, काठमाडौँ

नेकपा एमालेको १० औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। 

बैठक बुधबार बिहान ११ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्। 

गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कार्यालयमा आगजनी भएपछि एमालेले रामबाघ महलमा बैठक गर्न लागेको हो। 

यसअघि असोज २७ गतेदेखि सुरु हुने भनिएको बैठक तयारी नपुगेको भन्दै एमालेले आजदेखि गर्न लागेको हो। बैठक असोज ३१ गतेसम्म चल्ने बताइएको छ। 

बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको गौतमले जानकारी दिए। 

भक्तपुरको गुण्डुमा असोज २४ र २६ गते बसेको सचिवालय बैठकमा भने ओलीले मौखिक धारणा राखेका थिए। त्यहाँ राखेका धारणालाई लिखितरुपमा दिएर केन्द्रीय कमिटी बैठकमा पेस गरिने गौतमले जानकारी दिए। 

बैठकमा मंसिरमा हुने भनिएको पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने छ। 

जेनजी आन्दोलनको बलमा सत्ताबाट बाहिरिएका एमाले अध्यक्ष ओलीलाई पार्टी नेतृत्वबाट पनि बिदा हुन पार्टी भित्रैबाट दबाब बढ्दै गएको बेला हुन लागेको केन्द्रीय कमिटी बैठकलाई चासोको साथ हेरिएको छ। 

भण्डारीको सदस्यताबारे के होला?

सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेल लगायतका धेरै नेताहरूले पूर्व राष्ट्रपति विद्या भण्डारीले राजनीतिमा सक्रिय हुन चाहेको हो भने पार्टीको सदस्ता रोक्न नहुने मत राखेका थिए।

तर, अध्यक्ष ओलीले त्यसबारे प्रष्ट धरणा राखेका थिएनन्। केन्द्रीय समिति बैठकमा के होला? गौतम यो विषयमा छलफल नहुने बताउँछन्। ‘केही साथीहरूले कुरा उठाएका छैन्, त्यसमा छलफल त्यो हुँदैन,’ उनले भनेका थिए।

गत साउनमा बसेको  नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सदस्यता नदिने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad