राजनीति


ओलीसहित तीन नेतालाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन रास्वपाको माग

ओलीसहित तीन नेतालाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन रास्वपाको माग

नेपालखबर
असोज ८, २०८२ बुधबार २१:५१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका क्रममा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन मन्त्रीलाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन माग गरेको छ।

मंगलबार र बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तत्काल राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन सरकारको ध्यानाकर्षण गराएको हो। 

बैठकपछि रास्वपाका प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सञ्चार मन्त्रीलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन नेपाल सरकारलाई ध्यानाकर्षण गराउने।’

रास्वपाले २०४६ सालदेखिको उच्च सार्वजनिक ओहदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिने पनि निर्णय गरेको छ। 

जेनजी आन्दोलनका क्रममा नेताहरुको निवासमा भेटिएका अवैध नगद साथै चलअचल सम्पत्ति सम्बन्धी सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि रास्वपा बैठकले गरेको छ। 

आफ्ना सभापति रवि लामिछानेलाई नक्खू कारागारबाट भगाउने लगायतका गतिविधिमा आफ्ना सदस्य संलग्न भए नभएकोबारे पनि रास्वपाले छानबिन गर्ने भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad