राजनीति


लामिछानेलाई नक्खु जेलबाट भगाउन आफ्ना सदस्य संलग्न भए नभएको रास्वपाले छानबिन गर्ने

लामिछानेलाई नक्खु जेलबाट भगाउन आफ्ना सदस्य संलग्न भए नभएको रास्वपाले छानबिन गर्ने

नेपालखबर
असोज ८, २०८२ बुधबार २२:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनका क्रममा नक्खु जेलबाट आफ्ना सभापति रवि लामिछानेलाई भगाइएको भन्ने विषयमा छानविन गर्ने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा केन्द्रीय नेताहरुकै संलग्नतामा रवि लामिछानेलाई फर्जी कागजात बनाएर जेलबाट निकालिएको भन्दै आलोचना भइरहेको छ। 

यसअघि खण्डन गर्दै आएको रास्वपाको केन्द्रीय समिति बैठकले यो विषय छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। मंगलबार र बुधबार भएको केन्द्रीय समितिको बैठकपछि रास्वपाले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका घटनामा आफ्ना सदस्यहरुको संलग्नता भए नभएको भन्ने विषयमा छानविन गर्ने निर्णय गरेको हो। 

केही सार्वजनिक तथा निजी सम्पत्तिमा आगजानी गर्न रास्वपाका नेताहरु संलग्न रहेको तस्बिर तथा भिडिओ सार्वजनिक भइसकेको अवस्थामा रास्वपाले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने नर्णय गरेको छ। 

रास्वपाको निर्णयमा भनिएको छ, ‘नख्खु कारागार लगायत अन्य केही स्थानहरुमा भएका घटनाहरूमा पार्टी सदस्यहरुको सम्भावित संलग्नता भएको नभएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने।’

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय विस्तारित बैठक आगामी कात्तिक १४ र १५ गते गर्ने र उक्त बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनका विषयमा समेत छलफल गर्ने निर्णय गरेको छ। 

जेनजी उमेर समूहका युवाहरु लगायत नयाँ शक्तिहरु, अभियन्ताहरुसँग आवश्यक संवाद एवं सहकार्यका लागि भन्दै केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि भएको छ।

फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनका लागि रास्वपाको वाचापत्र तयार गर्न पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ७ सदस्यीय वाचापत्र लेखन समिति गठन गर्ने पनि निर्णय बैठकले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad