राजनीति


माओवादी आन्दोलनले नै थारु समुदायको हकहितको जग बसाल्यो: प्रचण्ड

माओवादी आन्दोलनले नै थारु समुदायको हकहितको जग बसाल्यो: प्रचण्ड

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १८:१०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी युद्ध र आन्दोलनले बनाएको बताएका छन्।

शुक्रबार नवलपुरको कावासोती–१६ डण्डामा थारू राष्ट्रिय संग्रहालय अध्ययन केन्द्रद्वारा आयोजित जिल्लास्तरीय भौदी खेल प्रतियोगितामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले थारू समुदायका अधिकार सुनिश्चित गर्न जनयुद्धले गरेको योगदानलाई सबैले आत्मसाथ गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने, 'यदि जनयुद्ध र जनआन्दोलन नभएको भए, संविधानसभामा पुगिएको थिएन भने अहिले थारू समुदायको पहिचान, अधिकार र आयोग जस्ता उपलब्धिहरू सम्भव हुने थिएन।' 

उनले संविधान निर्माणको क्रममा थारूलाई मधेसी क्लस्टरमा राख्ने वा केवल आदिवासी जनजातिको रूपमा समेट्ने दुई धाराबीचको बहसका बेला माओवादीले थारूको ‘अलग क्लस्टर’को मान्यता र संवैधानिक आयोगको मागलाई प्रस्ट र बलियो रूपमा उठाएको कुरा थारु समुदायले आत्मसाथ गर्नुपर्ने बताए।

गण्डकी प्रदेशमा थारू जनसंख्या न्यून भएकाले थारू समुदायको स्वतन्त्र राजनीतिक प्रतिनिधित्व सम्भव नदेखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नवलपुर क्षेत्रलाई विशेष वा स्वायत्त क्षेत्रको रूपमा घोषणा गर्नुपर्ने बताए।

उनले भने, 'नवलपुर क्षेत्रमा गैँडाकोटदेखि विनायक त्रिवेणीसम्म थारूको क्लस्टर रहेको हुँदा, त्यसलाई विशेष क्षेत्र वा स्वायत्त क्षेत्रको रूपमा मान्यता दिनुपर्छ।' 

सो अवसरमा थारू संग्रहालयका लागि छुट्याइएको झन्डै सात बिघा जग्गाको हालसम्म भोगाधिकार नआएको विषयप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले उक्त विषयलाई सदनमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा उठाउने र वन मन्त्रालयसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 

परम्परागत थारू खेल ‘भौदी’ लाई नेपाली मौलिकतासँग जोड्दै प्रचण्डले यसलाई थारू समुदायको विशिष्ट सांस्कृतिक सम्पदा भएको उल्लेख गरे। 

संविधानले व्यवस्था गरेका स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रसम्बन्धी प्रावधान अझै कार्यान्वयनमा नआएको उल्लेख गर्दै उनले दलित, महिला, आदिवासीलगायत उत्पीडित समुदायहरूको अधिकार स्थापनाको कार्य अझै अधुरो रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad