राजनीति


बीपीको जस्तो कांग्रेस बनाउन म सभापति बन्नैपर्ने अवस्था आयो: शशांक कोइराला

बीपीको जस्तो कांग्रेस बनाउन म सभापति बन्नैपर्ने अवस्था आयो: शशांक कोइराला

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १८:२७, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउनका लागि आफू पार्टी सभापति बन्नै पर्ने अवस्था आएको बताएका छन्। नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको १५ औं महाधिवेशनमा सहयोगको अपेक्षा राखेको भन्दै सहयोग पाए नेपाली कांग्रेसका नेता कार्याकर्ताले खोजेको नेपाली कांग्रेस बनाएर छोड्ने बताएका हुन्।  

‘मैले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु। त्यही कारणले म नेपाली कांग्रेसको सभापति बन्न पर्छ। म लाखौ कमाउने मान्छे हो मैले  त्यो छोडेर राजनीतिमा आएको हो। मलाई कुनै लोभ छैन्,' उनले भने, 'म त नेपाली कांग्रेस बलियो बनाएर नेपाल र नेपालीको सेवाका लागि आएको हो। बीपी १४ वर्ष जेल बस्नुभयो। कृष्णप्रसाद कोइरालाले जेलमा नै मृत्युवरण गर्नुभयो। कृष्णप्रसाद कोइरालाको हजारौँ विगाह जमिन थियो। आफूलाई कुनै अपुग नभएको मान्छे नेपाल र नेपालीका लागि जेलमै मृत्युवरण गर्न तयार हुनुभयो। त्यही भएकाले भोलिका दिनमा महाधिवेशनमा मैले तपाइँहरूको सहयोगको अपेक्षा राखेको छु। सहयोग गर्नुहोला म तपाईहरूले खोजेको कांग्रेस बनाएरै छाड्छु।’

‍कोइरालाले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउने भन्दै केही योजना पनि सुनाए। 

उनले नेपाली कांग्रेसको विधानलाई परिमार्जन गर्नुपर्नेदेखि पार्टीलाई एकढिक्का बनाउने र नेता कार्याकर्ताहरूलाई न्याय दिलाउने बताए। उनले विधानमा केही व्यवस्था गलत भएको पनि सुनाए। 

‘बीपी कोइरालाका पालाको विधान कस्तो थियो?- समावेशी शब्द उहाँले कहिल्यै प्रयोग गर्नुभएन। मन्त्री बनाउँदाको समावेशीता हेरौँ, केन्द्रीय समिति बनाउदाको समावेशीता हेरौँ, विधानमा लेखर मात्र हुन्छ त? नेता व्यवहारिक भयो स्वार्थी भएन भने किन विधान चाहियो’ उनले भने। 

उनले चुनावका बेलामा टिकट वितरण गर्दा केन्द्रीकरण गर्न नहुने पनि बताए। 

केन्द्रका २०–३० जना प्रभावशाली नेताहरूले भाग लगाएर टिकट वितरण गर्दा समस्या भएको उनको भनाइ छ। उनले टिकट दिने बेलामा पार्टीको तल्लो तहको रिपोर्टका आधारमा टिकट दिनुपर्ने बताए। 

‘जिल्ला सभापति पालिका सभापति क्षेत्रिय सभापति वडा सभापति छन्। उनीहरूको सुझाव लिएर निर्णय गरौँ। पार्टीको संरचनालाई परिचालन गरौँ किन केन्द्रीयकरण गरेर सबै जसअपजस आफ्नो थाप्लामा लिने?,' उनले भने, 'तल्लो तहमा अधिकार दिएर पार्टीका तल्लै तहदेखि बलियो बनाउने तर्फ लाग्न जरुरी छ। पार्टीका तल्ला निकाय बलिया भएमा केन्द्र बलियो हुन्छ । अनि कांग्रेस नै बलियो बन्छ। नेतृत्वमा बस्नेहरूले मेरो कि तेरो मान्छे भनेर बन्न हुन्न । यसो भन्ने वित्तिकै पार्टी भित्रको एकता समाप्त हुन्छ।’

कोइरालाले भातृसंगठनहरूको अवस्था दर्दानाक भएको हजार जना क्रियाशील भएको वडामा कांग्रेसलाई २ सय पनि मुस्किलले भोट आउने अवस्था भएकाले पनि सभापतिलाई बलियो बनाउन आवश्यक रहेको बताए। मेरो तेरो नभनि योग्य मान्छेलाई टिकट दिनुपर्ने भन्दै योगदान गरेको मान्छे चुनाव लड्ने योग्य हुँदैन भने उसको योगदानको अर्को बाटो खोजेर कदर गर्नुपर्ने उनको भनाइ छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad