राजनीति


अहिले योजना आयोगको शक्ति अर्थ मन्त्रालयमा सरेको छ: पुष्पराज कँडेल

अहिले योजना आयोगको शक्ति अर्थ मन्त्रालयमा सरेको छ: पुष्पराज कँडेल

नेपालखबर
असार २९, २०८३ सोमबार १२:२३, काठमाडौँ

नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले राष्ट्रिय योजना आयोगको भूमिका र प्रभावकारिता कमजोर हुँदै गएको बताएका छन्। 

सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै आयोगका पूर्वउपाध्यक्ष समेत रहेका कँडेलले योजना आयोगको गरिमा घट्दै गएको र राज्यका शक्तिहरू अर्थ मन्त्रालयमा मात्र केन्द्रित भएको जिकिर गरे। राष्ट्रिय योजना आयोगलाई रामायणको पात्र पर्शुरामसँग तुलना गर्दै हिजोको शक्ति र सामर्थ्य अहिले बाँकी नरहेको टिप्पणी गरे। 

‘विगतमा योजना आयोगले अर्थ मन्त्रालयलाई मार्गनिर्देश गर्ने र सोही आधारमा मन्त्रालय चल्ने प्रचलन थियो। तर अहिले सबै शक्ति अर्थ मन्त्रालयमा सरेको छ,’ सांसद कँडेलले भने। 

संस्थागत संरचनाबारे टिप्पणी गर्दै कँडेलले तथ्यांक कार्यालयलाई योजना आयोगकै अंगका रूपमा राख्ने तयारी भए पनि ऐन निर्माणका क्रममा प्रधानमन्त्री कार्यालय मातहत पुर्‍याइएकोमा असन्तुष्टि जनाए। ‘अर्थ मन्त्रालय, राष्ट्र बैंक र योजना आयोगबीच जुन सन्तुलन (चेक एन्ड ब्यालेन्स) हुनुपर्ने हो, त्यो अहिले खस्किएको छ,’ उनले भने। 

नीति अनुसन्धान प्रतिष्ठान र तथ्यांक कार्यालयलाई योजना आयोग मातहत ल्याउनसके मात्र आयोगको गरिमा बढ्ने र अनुसन्धानका कार्यहरू प्रभावकारी हुने उनको तर्क थियो। संघ र प्रदेश तहका योजना आयोगहरूबीच आवश्यक समन्वयकारी संयन्त्रको अभाव रहेको समेत उनले उल्लेख गरे। 

सांसद कँडेलले बजेट विनियोजन र स्रोत व्यवस्थापनमा गम्भीर त्रुटी रहेको दाबी गरे। प्रोजेक्ट बैंकमा रहेका योजनाभन्दा बाहिरका पाँच देखि १५ लाख रुपैयाँका हजारौँ टुक्रे आयोजनामा बजेट छर्ने प्रवृत्तिले गर्दा एकातिर पूँजीगत खर्च हुन नसकेको र अर्कोतिर विकासको ठोस नतिजा नदेखिएको उनको ठहर छ। 

आयोजनाको प्राथमिकीकरण नहुँदा र अर्थ मन्त्रालयमा मात्र अधिकार केन्द्रित हुँदा विकास निर्माणका काममा बाधा पुगेको कँडेलले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad