नेकपा एकीकृत समाजवादीको भातृ संगठन युवा संघ नेपालले आफ्नै सह-संयोजक संजीव राईलाई स्पष्टीकरण सोधेको छ।
संगठनको आन्तरिक निर्णय र प्रक्रियाविपरीत गतिविधि गरेको आरोपमा संघको केन्द्रीय अनुशासन आयोगले राईलाई स्पष्टीकरण सोधेको हो।
तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न संघले निर्देशन दिएको छ।
अनुशासन आयोगका अध्यक्ष विकल के।सील् विज्ञप्ति जारी गर्दै राईले संगठनको विधि र निर्णयविपरीतका क्रियाकला गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिएका हुन्।
मंगलबार बसेको युवा संघको पदाधिकारी र कार्यालयको संयुक्त बैठकले राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न स्थायी समिति गठन गर्ने निर्णय गरिसकेको थियो। सो निर्णयअनुसार कार्यान्वयनका लागि समन्वयात्मक जिम्मेवारी तोकिएको भए पनि राईले त्यस विपरीत गतिविधि गरेको आरोप विज्ञप्तिमा लगाइएको छ।
‘तोकिएको समयमा स्पष्टीकरण नदिए वा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएमा विधान, विधि तथा प्रक्रिया विपरीत कार्य गरेको ठहर गरी आवश्यक अनुशासनात्मक कारबाही अगाडि बढाइनेछ,’ विज्ञप्तिमा भनिएको छ।
Shares

प्रतिक्रिया