उपसभामुख इन्दिरा रानालाई हटाउन नेपाली काँग्रेस र नेकपा (एमाले) हस्ताक्षर संकलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाएका हुन्।
उनले सरकारको तर्फबाट नै सम्मनित संसद र लोकतन्त्रका लागि ठूलो खतरा भएको टिप्पणी गरे। उनले बालुवाटार र सिंहदरबारमा भएको प्रदर्शनले सम्मानित सदनलाई आहत पारेको टिप्पणी समेत गरे।
लोकतन्त्रको विरासत धानेका भन्नेहरूले उपसभामुख जस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन लोकतन्त्रकै लागि सबैभन्दा ठूलो खतरा भएको उनको भनाइ छ। उनले नेपाली कांग्रेसलाई बीपी कोइराला आदर्श स्मरण गर्न तथा एमालेका नेताहरूलाई सामन्तवादविरुद्ध मदन भण्डारीको दृष्टिकोण स्मरण गर्न आग्रह गरे।
उपसभामुखको पदमा रहेका जनजाति महिलाप्रति देखिएको असम्मानको आलोचना गर्दै सांसदहरूको विवेकलाई बन्धक नबनाउन चेतावनी दिए।
‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रदर्शन भयो त्यसले सम्मानित सदनलाई चोट पुर्याएको छ। लोकतन्त्रको विरासत धानेका भन्नेहरुले सम्मानित सदनको उपसभामुख जस्तो जिम्मेवार पदमाथि जुन तहको अपमूल्यन भएको छ यो लोकतन्त्रको लागि सबैभन्दा ठूलो खतरा हो भन्ने हाम्रो पार्टीको ठम्याइ हो। म भन्न चाहन्छु-लोकतन्त्र बचाउनको लागि हार्न तयार हुने बीपी कोइरालालाई फर्केर हेर्नुस् काँग्रेसका नेताहरू।'
एमालेका नेताहरूलाई मदन भण्डारीलाई सम्झन र एउटा जनजाती महिलाको सम्मान गर्न आग्रह गरे।
'म कम्रेड मदन भण्डारीलाई सम्झन चाहन्छु। सामन्तवाद मात्रै होइन पार्टीभित्र हाबी हुने सामन्तवादले पनि हामीले उभो लाग्न दिँदैन भन्ने कम्रेड मदन भण्डारीलाई सम्झन म एमालेका नेताहरुलाई अनुरोध गर्न चाहन्छु। एउटा जनजाती महिलाको सम्मान होस् भनेर हामीले सदनमा भित्र्याएका हौं,' उनले भने, 'उहाँले जति सम्मान पाउनु भएको छ तपाइँहरू जति उफ्रे पनि त्यतिमाथि पुग्नुहुन्न भन्ने हाम्रो ठम्याइ हो। सांसदको विवेकलाई बन्दी नबनाउँ, सांसद आफैंमा सार्वभौम हो। आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्न खोजिँदैछ। नयाँहरूलाई निषेध गर्न सकिँदैन।'
Shares

प्रतिक्रिया