राजनीति


उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस र एमाले फेरि छलफलमा

उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस र एमाले फेरि छलफलमा

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८२ मंगलबार १०:५९, काठमाडौँ

सत्ता साँझेदार कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन फेरि छलफल सुरु गरेका छन्। 

कांग्रेस र एमालेले गत वर्षनै रानालाई पदबाट हटाउने प्रयास गरेका थिए। तर, संसद्‍मा दुई तिहाइ नपुग्ने र उपसभामुखलाई हटाउँदा सरकारको आलोचना झन् बढ्ने देखिएपछि उनीहरू गत वर्ष पछि हटेका थिए। 

यसपटक रानालाई हटाउनको लागि संसद्‍मा दुई तिहाई पुर्‍याउन एकीकृत समाजवादीसँग पनि उनीहरूले सहयोग मागेका स्रोतले जनाएको छ। 

अहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी र शीर्ष नेताबीच छलफल चलिरहेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए।

आजै कांग्रेसले संसदीय दलको बैठक पनि बोलाएको छ।

उपसभामुख रानाको आचरणमा प्रश्न उठाउँदै उनलाई हटाउने तयारीमा दुई दल लागेका हुन्। 

गतवर्ष दुई दलले ‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरेका थिए। 

संविधानको धारा ९१ उपधारा (६) को (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ।

राना रास्वपाको कोटाबाट उपसभामुख बनेकी हुन्। 

हाल प्रतिनिधिसभामा कांग्रेसका ८८ र सभामुखसहित एमालेका ७८ सांसद् छन्। कांग्रेस र एमालेलाई उपसभामुख हटाउने हो भने थप १७ जना सांसद आवश्यक पर्छ। साना दलकाे सहयाेगबिना सभामुखलाई हटाउन सम्भव देखिँदैन।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले उपसभामुख हटाउने कांग्रेस एमालेको छलफलप्रति अहिले नै पार्टीले कुनै धारणा बनाइ नसकेको बताए। ‘उनीहरू (कांग्रेस एमाले)ले गर्ने नै यस्तै हो,’ झाले नेपालखबरसँग भने, ‘गत वर्ष पनि उनीहरूले यस्ताे प्रयास गरेका थिए। तर, सकेनन्। यस सम्बन्धमा अब उनीहरूले के निर्णय गर्छन्, हेरौँ। त्यसपछि मात्रै हामी आधिकारिक रुपमा आफ्नो धाराणा सार्वजनिक गर्नेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad