राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट सभापतिमा निर्विरोध निर्वाचित रवि लामिछानेले महामन्त्रीमा विपिन आचार्यलाई रोजेका छन्। त्यसका लागि आफ्नो पक्षका अन्य नेतालाई महामन्त्रीको उम्मेदवारी फिर्ता गराउने प्रयासमा जुटेका छन्।
सभापति लामिछानेले सर्वसम्मत पदाधिकारी चयन गर्दा महामन्त्रीमा विपिनलाई ‘पिक’ गर्ने संकेत गरेपछि उम्मेदवारी नदिएको एक नेताले बताए। विपिन पनि महामन्त्री हुनेमा ढुक्क सुनिन्छन्।
पहिलो चरणको चुनावकै क्रममा महामन्त्रीको दावेदार रहेको बताएका उनले सभापति लामिछानेसँग कुराकानी भइरहेको सुनाएका थिए। दोस्रो चरणको चुनावी प्रक्रिया सुरु भएपछि उनले महामन्त्रीमा उम्मेदवारी दिएका छन्। लामिछाने पक्षका अन्य महामन्त्रीबाट उम्मेदवारी फिर्ता लिने क्रम जारी छ।
महामन्त्रीका उम्मेदवार कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, जगदीश खरेल, प्रमोद न्यौपाने र रञ्जु दर्शनाले पनि विपिनलाई समर्थन गरेका छन्। पाँचै जनाले महामन्त्रीबाट उम्मेदवारी फिर्ता लिएका छन्।
त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले पनि विपिनलाई समर्थन गरेका छन्। विपिनलाई समर्थन गरेका खनालले उम्मेदवारी नै दिएका थिएनन्।
शुक्रबार चितवनमा बुर्लाकोटी, पराजुली, खनाल, खरेल र न्यौपानेले संयुक्त पत्रकार सम्मेलन गर्दै महामन्त्रीमा विपिनलाई समर्थन गर्ने निर्णयमा सुनाएका छन्। त्यसपछि दर्शनाले छुट्टै पत्रकार सम्मेलन गरेर विपिनलाई समर्थन गर्ने बताइन्। सभापतिमा निर्विरोध निर्वाचित भएका लामिछानेले पदाधिकारी पनि सर्वसम्मत चयन गरेको गृहकार्य गरिरहेको उनीहरूको भनाइ छ।
९९ जना केन्द्रीय सदस्यको निर्वाचन भएपछि सभापति लामिछाने पदाधिकारी सर्वसम्मत चयनको गृहकार्य थालेका हुन्। पदाधिकारीमा उम्मेदवारी दर्ता गरिएको भए पनि लामिछाने सर्वसम्मतको गृहकार्य कायमै राखेका छन्।
दोस्रो चरणको निर्वाचनको प्रक्रिया अलमलमै छ। सभापति लामिछानेले पदाधिकारीमा सर्वसम्मतको प्रयास गर्दा निर्वाचन प्रक्रिया अगाडि नबढेको रास्वपामा नेताहरू बताउँछन्।
सभापतिपछिको कार्यकारी पद महामन्त्रीको जिम्मेवारी लामिछानेले आचार्यले सुम्पिन लागेको नेताहरू बताउँछन्। महामन्त्रीका उम्मेदवार मनिष झा, सागर ढकाल, गणेश कार्की र राजु पाण्डेको उम्मेदवारी कायमै छ। तर, सभापति लामिछानेले विपिनलाई महामन्त्री बनाउन उनीहरूलाई मनाउने कोसिस गरिरहेका नेताहरू बताउँछन्।
को हुन् विपिन?
विपिन २०४६ सालमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कटिगाउँमा जन्मिएका हुन्। अन्नपूर्ण स्कुलमा कक्षा १ देखि ५ सम्मको पढाइ पूरा गरेका उनले त्यसपछि घोराहीस्थित दीपशिखा बोर्डिङ स्कुलबाट कक्षा १० सम्म पढे।
बायोटेक इन्जिनियरिङ अध्ययनका लागि भारतको पुणे पुगेका विपिनले काठमाडौँ विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका छन्। २०५८ सालमा दीपशिखा आवासीय विद्यालयबाट प्रवेशिका उत्तीर्ण गरेका उनले २०६६ सालमा भारतबाट बायोटेक इन्जिनियरिङको अध्ययन पूरा गरेका थिए। २०६९ सालमा व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका थिए।

विपिन र रविको सम्बन्ध गोरखा मिडिया प्रालिमा काम गर्दा प्रगाढ बनेको थियो। रवि निर्देशक रहेको गोरखा मिडिया प्रालिमा विपिन क्रिएटिभ डाइरेक्टरका रूपमा कार्यरत थिए।
२०७९ जेठ ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्नेमध्ये विपिन पनि एक हुन्। पार्टीको नाम, चुनाव चिह्न र रङ छनोटको जिम्मेवारी विपिनलाई दिइएको थियो।
पार्टीको पहिलो बाचापत्र पनि लेखेका उनले अभियान विभागको जिम्मेवारी सम्हाले। २०७९ सालको चुनावमा बाचापत्र तयार पार्ने, विधानको ‘प्राइमरी फ्रेमवर्क’ बनाउने, मोबाइल एप निर्माणमा सक्रिय भूमिका खेले।
२०८० मंसिर १४ गते रास्वपाको सहमहामन्त्री बनेका उनी २०८२ वैशाख १ गते प्रशिक्षण विभाग प्रमुख भए।
विपिनको विगतको पारिवारिक राजनीतिक पृष्ठभूमि हेर्दा नेकपा (एमाले) सँग जोडिन्छ। उनको परिवार एमाले निकट मानिन्थ्यो। शिक्षक पेशामा रहेका विपिनका बुवाले एमालेको राजनीतिमा सक्रिय थिए।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विपिन एमालेकै महासचिव शंकर पोखरेललाई पराजित गरेर संघीय संसदको यात्रा तय गरेका थिए। पोखरेललाई पराजित गरेपछि राष्ट्रिय राजनीतिमा विपिनको चर्चा चुलिएको हो।
अब उनी सत्तासीन रास्वपाको शक्तिशाली महामन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारीमा छन्। दुई महामन्त्रीको व्यवस्था भएको रास्वपामा एक जना मनोनित गर्ने व्यवस्था छ। सभापति लामिछाने प्रधानमन्त्री वालेन्द्र शाहको कोटा निवर्तमान महामन्त्री भूपदेव शाहलाई दोहो¥याउने रास्वपा नेताहरू बताउँछन्।
Shares

प्रतिक्रिया