राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको महामन्त्री बन्न उम्मेदवारी दिएका ६ नेताले नाम फिर्ता लिएर विपिन आचार्यलाई समर्थन गरेका छन्।
महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शिशिर खनालले सबैभन्दा पहिला आचार्यलाई समर्थन गरेका थिए। आचार्यलाई समर्थन गरेर उम्मेदवारी नदिएको उनले बताएका थिए।
त्यसपछि कबिन्द्र बुर्लाकोटीले पनि आचार्यलाई नै समर्थन गर्दै नाम फिर्ता लिए। यससँगै महामन्त्रीमा उम्मेदवारी दिएका गणेश पराजुली, प्रमोद न्यौपाने, जगदीश खरेल र रञ्जु दर्शनाले पनि आचार्यलाई नै समर्थन गर्दै नाम फिर्ता लिएका हुन्।
यसैगरी राजुनाथ पाण्डेले पनि महामन्त्रीको प्रतिपस्पर्धाबाट हात झिकेका छन्। अब आचार्यसहित मनीष झा, सागर ढकाल र गणेश कार्की महामन्त्रीका उम्मेदवार बाँकी छन्।
यस्तै, उपसभापतिमा सोविता गौतम र तोषिमा कार्की कायम छन। सहमहामन्त्रीमा पनि १६ जनाकै नाम कायम छ।
रास्वपा सभापति रवि लामिछानेले सर्वसम्मत पदाधिकारी चयनको लागि अधिकतम प्रयास गरिरहेका छन्। रास्वपाको चितवन उद्योग संघको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा असार ८ गतेदेखि बन्द सत्र सुरु भएको थियो। केन्द्रीय सदस्यको लागि बिहीबार मध्यरातिदेखि भएको मतदान मध्याह्न १२ बजेसम्म चलेको थियो।
९९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएपछि मात्र पदाधिकारी उठ्न पाइने भएकोले बिहीबार राति केन्द्रीय सदस्यको अन्तिम परिणाम सार्वजनिक भएपछि पदाधिकारी चयन प्रक्रिया अघि बढेको हो। अहिले प्रतिनिधिहरू लाइनमा बसे पनि उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिने क्रम पनि चलिरहेको छ।
यसका लागि सभापति लामिछानेले आफूले भनेर मान्ने नेताहरूमार्फत् सर्वसम्मतको प्रयास जारी राखेका छन्। तीन दिनको लागि तय भएको रास्वपाको महाधिवेशन उद्घाटन भएको ६ दिन पुगिसकेको छ।
Shares

प्रतिक्रिया