उपसभामुख इन्दिरा राना हटाउन लागिएको चर्चाबीच नेकपा एमालेले आज आकस्मिक रूपमा संसदीय दलको बैठक राखेको छ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बैठक केही बेरमा सुरु हुँदै छ।
सांसदहरू आउने क्रम जारी रहेको र सबै आइपुगेलगत्तै बैठक सुरु हुने एमाले सांसद राजकुमार गुप्ताले जानकारी दिए।
बैठकका एजेन्डाबारे कुनै जानकारी दिइएको छैन।
‘भोलि संसद् बैठक छ, सायद यसै विषयमा छलफलका लागि होला’, गुप्ताले नेपालखबरसँग भने।
तर एमालेकै अर्को स्रोतले भने सांसदहरूको हस्ताक्षर संकलन गर्न एमाले संसदीय दलको बैठक राखिएको बताएको छ।
‘सांसदहरूको हस्ताक्षर संकलन गर्ने कुरा छ तर कुन प्रयोजनका लागि भनेर अहिलेसम्म बताइएको छैन’, स्रोतले नेपालखबरसँग भन्यो।
यद्यपि यो खबर लेख्दासम्म प्रधानमन्त्रीसमेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओली भने उक्त बैठकमा जाने कार्यक्रम तय भएको छैन।
यसबीच सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन छलफल सुरु गरेका छन्।
यसै विषयमा अहिले कांग्रेसले सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शीर्ष नेताहरूको बैठक गरिरहेको छ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले यसपछि आजै संसदीय दलको बैठक पनि बस्ने जानकारी दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोटाबाट उपसभामुख बनेकी इन्दिरा रानाको आचरणमा प्रश्न उठाउँदै सत्तारुढ दुई दल उनलाई पदबाट हटाउने प्रयासमा लागेका हुन्।
रास्वपा प्रवक्ता मनीष झाले उपसभामुख हटाउन कांग्रेस-एमालेले छलफल थालेको भन्ने विषयमा अहिले नै कुनै धारणा दिनु आवश्यक नभएको बताए।
नेपालखबरको जिज्ञासामा उनले भने, ‘उनीहरू (कांग्रेस-एमाले) ले गर्ने नै यस्तै हो, गत वर्ष पनि उनीहरूले यस्ताे प्रयास गरेका थिए। तर, सकेनन्।’
यस विषयमा कांग्रेस-एमालेको निर्णय आएपछि मात्रै पार्टीका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्ने प्रवक्ता झाले बताए।
Shares

प्रतिक्रिया