काठमाडौँको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्डियोभास्कुलर विभागका प्रमुख एवं वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले राजीनामा दिएकाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ‘दु:ख’ व्यक्त गरेका छन्।
तर यस क्रममा मिश्रले डा. रामेश ‘आफूलाई तुच्छतापूर्वक खेदिरहने थोरै बौद्धिकमध्ये एक’ पनि भनेका छन्।
‘अत्यन्तै दु:खी छु! डा. रामेश कोइराला र मेरो खासगरी राजनीतिक कुरा कहिल्यै मिलेन। 'मार्ग परिवर्तन' गर्नुअघि पनि मिलेन। उनी मलाई अधिकांश स्थितिमा सुरुदेखि नै अति तुच्छतापूर्वक खेदिरहने थोरै 'बौद्धिक'मध्येका एक थिए’, मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थिति यतिसम्म अपाच्य भयो कि मैले उनलाई ट्विटरमा ब्लक गरिदिएँ र तत्काल उनले पनि मलाई ब्लक गरिदिए। तर आज उनले गंगालाल र देश छोडेर गएकोमा अत्यन्तै दु:खी छु।’
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले डा. रामेशले राजीनामा दिने अवस्था आउनुको कारण डा. रामेशकै राजनीतिक प्रवृत्ति पनि जिम्मेवार रहेको भनी खुच्चिङ शैलीमा कटाक्ष पनि गरेका छन्।
‘रामेशजी, एकबारको जिन्दगी हो। तपाईँले असाधारण स्तरको सार्वजनिक सेवा गरिसक्नुभएको छ। जे पाउनु भएन, त्यसका लागि पश्चताप गर्नु पर्दैन (वास्तवमा यो स्थिति आउनमा तपाईँहरूजस्ताको चरम राजनीतिक आग्रह त्यत्तिकै जिम्मेवार छ)’, मिश्रले लेखेका छन्, ‘जहाँ रहनु हुन्छ, जे गर्नु हुन्छ- खुसी र सुखी रहनोस्। धेरै-धेरै शुभकामना व्यक्त गर्दछु। अत्यन्तै दु:खी। यस्तै हुने हो भने देश के होला! नमरी बाँचे कालले साँचे, कुनै दिन तपाईँको तुच्छताका बारे बसेर गफ गर्दै हाँसौँला!’
Shares

प्रतिक्रिया