राजनीति


बंगलादेशमा ५३ वर्ष अगाडिको जनविद्रोह स्मरण गर्दै दूतावासले मनायो ‘जुलाई अपराइजिङ डे’

बंगलादेशमा ५३ वर्ष अगाडिको जनविद्रोह स्मरण गर्दै दूतावासले मनायो ‘जुलाई अपराइजिङ डे’

नेपालखबर
साउन २०, २०८२ मंगलबार २१:३, काठमाडौँ

नेपालस्थित बंगलादेश दूतावासले मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गरी ‘जुलाई अपराइजिङ डे’ मनाएको छ। आजभन्दा ५३ वर्ष अगाडि बंगलादेशमा भएको जनविद्रोहको स्मरणमा ‘जुलाई अपराइजिङ डे’ अर्थात् जुलाई जनविद्रोह दिवस मनाइएको हो। कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ प्रमुख अतिथि थिए।

गुरुङले दिवसको शुभकामना दिँदै बंगलादेशको लोकतन्त्रतर्फको परिवर्तनशील यात्रामा नेपालबाट पूर्ण सहयोग र समर्थन रहने बताए। जुलाई जनविद्रोहलाई ‘बंगलादेशी जनताको लोकतन्त्रप्रतिको सामूहिक इच्छाशक्ति’को रूपमा चर्चा गर्दै उनले नयाँ पुस्ताबाट थालनी भएको यो आन्दोलनले ल्याएको ऊर्जा र उत्साह विशेष रहेको बताए।

‘नेपाल र बंगलादेशबीच व्यापार, लगानी, पर्यटन, सूचना प्रविधि तथा जनस्तरको सम्पर्कजस्ता विभिन्न क्षेत्रहरूमा भइरहेको सहकार्य एवम् आपसी सहयोगलाई अझ सशक्त बनाउनुपर्छ,’ उनले भने।
 
कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले दीर्घकालीन अधिनायकवादी शासनबाट जनतालाई मुक्त गराउने जुलाईका संघर्षकर्ताहरूको योगदान स्मरण गरे। उनले दमन र विभेदविरुद्ध विशेषगरी युवा पुस्ता– जेन जेडको भूमिकाको उच्च प्रशंसा गरेका थिए। उनले सो जनविद्रोहमा विदेशमा रहेका बंगलादेशीहरूले दिएको योगदानको पनि प्रशंसा गरे।

राजदूत शफिकुर रहमानले  यो जनविद्रोहलाई अवसरको रूपमा चित्रित गर्दै उनले लोकतान्त्रिक र समृद्ध बंगलादेश निर्माणका लागि अन्तरिम सरकारका पहलहरूमा सबै सरोकारवालाहरूले हातेमालो गर्नुपर्ने बताए।

कार्यक्रममा बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिन र सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसको सन्देश वाचन गरेर सुनाइएको थियो। कार्यक्रममा जुलाई जनविद्रोहसँग सम्बन्धित एक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।

सन् १९७२ को जुलाई १७ मा ढाका विश्वविद्यालयका विद्यार्थी र श्रमिकहरुले जनजीविकाका सवालमा सरकारविरुद्ध गरेको प्रतिरोधका रूपमा स्थापीत यो दिवसलाई बंगलादेशको एउटा महत्वपूर्ण र ऐतिहासिक दिन मानिन्छ। 

कार्यक्रममा सार्कका महासचिव मोहमद गोलाम सरवारले बंगलादेश सरकार र नागरिकहरुलाई दिवसको शुभकामना दिएका थिए।

कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूतहरू, विशिष्ट व्यापारी, व्यवसायी, चिकित्सक, पेशाकर्मी, नागरिक समाज, पत्रकार लगायत सहभागी थिए। त्यस्तै, सार्क सचिवालय, इसिमोड, युनिसेफलगायत क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू पनि कार्यक्रममा सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad