राजनीति


एनआरएनए यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित

एनआरएनए यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित

प्रजय शुक्ल
साउन ११, २०८२ आइतबार ६:१५, लन्डन

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा उनले अध्यक्ष पदका अर्का प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै विजय हासिल गरेका हुन्।

एनआरएनए यूके अहिले गम्भीर ध्रुवीकरण र आन्तरिक विवादको अवस्थामा गुज्रिरहेको बेला पुडासैनीले नेतृत्व सम्हालेका हुन्। उनले अध्यक्षमा निर्वाचित भएपछि संस्थालाई समावेशी, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिवद्धता जनाएका छन्।

‘नेतृत्वको संकटले संस्थाको छवि धुमिल बनाएको छ,’ उनले नेपालखबरसँग भने, ‘म एनआरएनएलाई सबै नेपालीको साझा र गौरवपूर्ण थलो बनाउन नेतृत्वमा आएको हुँ।’

पुडासैनीले एनआरएनए यूकेमा देखिएको विभाजन अन्त्य गर्दै सबै पक्षलाई समेट्ने मार्गचित्र तयार गरेको बताए। उनले प्रेम गाहा मगर पक्षसँगसमेत मिलेर साझा एजेण्डामा काम गर्ने योजना सार्वजनिक गरेका थिए।

पुडासैनीले एनआरएन अभियानलाई जनतासँग जोडिन नसकेको कमजोरी स्वीकार्दै स्थानीय नेपाली समुदायसँगको सम्बन्ध बलियो बनाउने, बेलायत–नेपाल सम्बन्ध सुदृढ बनाउने र ज्ञान, सीप र प्रविधिको आदानप्रदान गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ निवासी पुडासैनी २५ वर्षअघि पढ्न बेलायत आएका थिए। उनले प्रतिष्ठित युनिभर्सिटीबाट एमबीए तथा बीएस्सी अनर्स गरेका छन्। उनी विगत १५ वर्षदेखि बेलायतको स्वास्थ्य सेवामा कार्यरत छन्।

विद्यार्थीकालदेखि नै सामाजिक रुपान्तरणमा सक्रिय पुडासैनी नेपालमा रहँदा सरस्वती बहुमुखी क्याम्पसको स्ववियू सभापति थिए। बेलायतमा उनले ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निभाएका छन्।

पुडासैनी हाल जीएमबी नेशनल युनियन (लन्डन सेन्टर नर्थ) का सचिव छन्।

उनी सन् २०१४ मा लन्डन बरो अफ ह्यारोबाट काउन्सिलर पदमा पनि प्रत्यासी बनेका थिए। उनले यती नेपाली एशोसिएसन यूकेको दुई कार्यकाल महासचिव, प्रवासी नेपाली मञ्च यूकेको अध्यक्ष र एनआरएनए अन्तर्राष्ट्रिय समिति सदस्य (२०२१–२३) को जिम्मेवारी पनि सम्हालिसकेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad