राजनीति


सुक्खाग्रस्त मधेस जाँदै प्रधानमन्त्री, महोत्तरी र बाराका ४ कार्यक्रम सकेर आजै फर्किने

सुक्खाग्रस्त मधेस जाँदै प्रधानमन्त्री, महोत्तरी र बाराका ४ कार्यक्रम सकेर आजै फर्किने

नेपालखबर
साउन ९, २०८२ शुक्रबार ७:४८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली आज सुक्खाग्रस्त मधेस प्रदेशका महोत्तरी र बारा जिल्ला जाँदै छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली बिहान १०.३० बजे काठमाडौँबाट महोत्तरीको मटिहानी नगरपालिकातफ प्रस्थान गर्ने कार्यक्रम छ। 

प्रधानमन्त्रीले सो नगरपालिकाको विग्ही नदीमा बनेको पुल ११.३० मा उद्घाटन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि कार्यक्रममा अतिथिका रूपमा सहभागी हुनेछन्। 

सोही नगरपालिकामा निर्माण भएको प्रसूतिगृहको उद्घाटन र त्यहाँ आयोजित सभालाई प्रधानमन्त्रीले मध्याह्न १२ बजे सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीले आजै दिउँसो १.४० बजे जनकपुर कुर्था सम्सी सडक खण्डको रौजास्थित रातुखोला पुलको उद्घाटन गर्नेछन्।

यसपछि दिउँसो २ बजे बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन र त्यहाँ आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली दिउँसो ३ बजे काठमाडौँ फर्कने उनको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री ओलीले सुक्खाग्रस्त मधेसको स्थलगत निरीक्षण र मधेसका किसानसँग भेटघाट गरेर उनीहरूका समस्या सुन्ने कार्यक्रम छ।

‘साउनको पहिलो सातासम्म पनि धान रोपाँइ हुन सकेको छैन। त्यहाँका वस्तुस्थिति हेरौँ र स्थानीय किसानका कुरा सुनौँ भन्ने लागेको छ’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज महोत्तरी र बाराका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुनेछ।’

सरकारले केही दिनअघि मात्र मधेस प्रदेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

मधेस प्रदेशका जिल्लामा अनावृष्टिका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुकेर सिँचाइ प्रणालीमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो। 

मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मधेस प्रदेशको कुल खेती हुने क्षेत्रफलमध्ये हालसम्म ४६ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको छ। मनसुनमा आधारित कृषि प्रणाली भएकाले सुक्खाका कारण उत्पादन घट्ने अवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad