राजनीति


अनलाइन टीभी पत्रकार संघद्वारा एआई आचारसंहिता जारी

अनलाइन टीभी पत्रकार संघद्वारा एआई आचारसंहिता जारी

नेपालखबर
साउन ५, २०८२ सोमबार १६:२५, काठमाडौँ

नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी गरिएको छ। अनलाइन टिभी पत्रकार संघले ‘अनलाइन टीभी एआई आचारसंहिता २०८२’ जारी गरेको हो। 

काठमाडौँमा आज आयोजित आचारसंहिता घोषणा समारोहमा सङ्घका अध्यक्ष जीवन भण्डारीले १२बुँदे आचारसंहिता घोषणा गरेका हुन्। उनले एआईको दुरुपयोग न्यूनीकरण गर्ने र एआईको प्रयोगलाई सही बाटोतर्फ लैजानका लागि आचारसंहिताको आवश्यकता भएकाले एआई आचारसंहिता जारी गरिएको बताए।

एआईको प्रयोग अनलाइन टिभीहरुमा बढ्ने सम्भावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचारसंहिताको आवश्यकता महसुस गरिएको अध्यक्ष भण्डारीले बताए।  

सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था क्यान महासङ्घका वरिष्ठ उपाध्यक्ष चीरञ्जीवी अधिकारीले अनलाइन टिभी एआई आचारसंहिता नै नेपालको पहिलो एआई आचारसंहिता भएको दाबी गरे। अनलाइन टिभी पत्रकार सङ्घले एआई आचारसंहिता जारी गरेर अनुकरणीय बाटो देखाएको उल्लेख गर्दै उनले भने, ‘यस्तै अभ्यास सबै क्षेत्रमा अत्यावश्यक भइसकेको छ।’

सङ्घले जारी गरेको आचारसंहितामा प्रस्तावित राष्ट्रिय एआई नीति–२०८१ का मर्म र उद्देश्यलाई मध्यनजर गर्दै एआई आचारसंहिता जारी गरिएको उल्लेख छ। एआईको सहयोगमा बनाइएका सम्पूर्ण सामग्रीको अन्तिम परीक्षण, सम्पादन तथा अनुमोदन मानव जनशक्ति अर्थात सम्पादकबाट नै गरिने र त्यसपछि मात्रै प्रकाशित गरिने आचारसंहिताको पहिलो बुँदामा लेखिएको छ।

त्यसैगरी एआईद्वारा सिर्जित सामग्रीको जिम्मेवारी सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले लिने र एआईको प्रयोग भएको सामग्रीमा यसको स्पष्ट जानकारी दिइने पनि आचार संहितामा उल्लेख गरिएको छ। व्यक्तिगत गोपनीयता, चरित्र, अश्लील, संवेदनशील, निजी वा सुरक्षासम्बन्धी सूचना प्रवाह गर्दा प्रचलित कानुनको पालनामा विशेष सावधानी अपनाइने र भ्रम सिर्जना गर्ने, पक्षपातपूर्ण वा झुटा जानकारी प्रवाह गर्ने गरी एआईको प्रयोग नगरिने अनलाइन टिभी पत्रकार सङ्घले प्रतिबद्धता गरेको छ।

अनलाइन टिभी पत्रकार सङ्घमा आबद्ध सबै अनलाइन टिभी पत्रकारले आचारसंहिता अनिवार्य पालना गर्नुपर्ने र त्यसको अनुगमन सङ्घले आफ्नो तरिकाले गरिरहनेलगायतका विषय आचारसंहितामा लेखिएको सङ्घका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीले जानकारी दिए। इन्टरनेटमा श्रव्यदृश्य पत्रकारिता गर्दै आएका सञ्चारकर्मीको पहिलो र साझा संस्थाको रुपमा रहेको अनलाइन टिभी पत्रकार सङ्घले यसअघि २०७७ सालमा अनलाइन टिभी स्वनियमन निर्देशिका जारी गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad